नयाँ दिल्ली: अफ्रिकी देश गिनीको दोस्रो सबैभन्दा ठूलो शहर एन’जेरेकोरमा फूटबल म्याचको अवधि प्रशंसकहरूबीच भएको झड़पमा आइतवार १०० भन्दा अधिकले ज्यान गुमाए। स्थानीय अस्पतालका एकजना डाक्टरले भने, अस्पतालमा शवहरूको ताँती लागेको छ। धेरै मानिसहरू भुईंमा छन्। मुर्दाघर पनि भरिएको छ । लगभग १०० जनाको मृत्यु भएको छ अनि यस संख्यामा बढ़ोत्तरी हुने सम्भावना छ। घटनाको भायरल भीडियो फुटेजहरूमा म्याच स्थल बाहिर सड़कमा भागदौड़ अनि मैदानमा अराजकताको स्थिति स्पष्ट देखिएको छ। प्रदर्शनकारीहरूले एन’जेरेकोर पुलिस स्टेशनलाई पनि आगो लगाएर क्षतिग्रस्त पारे। स्थानीय मीडियाको रिपोर्टअनुसार, यो सब विवाद रेफरीको विवादित निर्णयले गर्दा शुरु भएको थियो। त्यसपछि प्रशंसकहरूले मैदानमा पसेर झमेला शुरु गरे। यो म्याच कथित रूपमा गिनीका जुण्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित एउटा टुर्नामेण्टको हिस्सा थियो, जसले २०२१-मा सत्ताच्यूतको माध्यमले सत्ता हासिल गरेर आफूलाई राष्ट्रपति घोषित गरेका थिए। स्थानीय पुलिस प्रशासनले घटनाको छानबीन शुरु गरेको छ।








