गान्तोक: नाम्चीस्थित भाइचुङ स्टेडियममा राष्ट्रीय खेलकूद दिवसको अवसरमा आजदेखि अल सिक्किम चिफ मिनिस्टर फुटबल प्रतियोगिता शुरू भयो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा नाम्ची नगर निगमका अध्यक्ष गणेस राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सिक्किम फुटबल एसोसिएशन र खेलकूद एवम युवा मामिला विभागद्वारा आयोजित यस प्रतियोगिता अन्तर्गत कूल १४७ वटा लिग म्याच खेलाइने भएको छ। यसरी नै प्रत्येक जिल्लामा पनि लिग म्याच खेलाइने भएको छ। उक्त प्रतियोगितामा प्रत्येक जिल्लाबाट एक एक वटा टोलीको छनौट गरिने भएको छ।

लिगमा छनौट गरिएको टोलीले गान्तोकको पाल्जर स्टेडियममा खेल्न पाउने छ। नाम्ची जिल्लाबाट १३ वटा टोलीले खेल्न पाउने छ भने केवल एउटा टोलीलाई मात्र छनौट गरिने आयोजक समितिले जानकारी गराएको छ। आजको खेल नामथाङ बीएससी स्पोर्टिङ क्लब बनाम मैनाम स्पोर्टिङ क्लब राभाङलाबीच भएको थियो भने जसमा नामथाङले एक गोल गरेर अघिलो चऱणमा प्रवेश गरेको छ। यसरी नै दोस्रो खेल सिनाल्चु बनाम मल्ली एफसीमाझ सम्पन्न भएको थियो जसमा सिनाल्चु एफसीले दुईको विरूद्ध ७ गोल गर्न सफल बन्यो।