मङपू: प्रथम गोर्खा स्वतन्त्र सेनानी शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस २५ अगष्टको दिन देशभरी गोर्खाहरुले पालन गरे। भारतभूमिको स्वतन्त्रताको निम्ति गोर्खाहरुले गरेको योगदान साथै शहिदहरुलाई श्रद्धाञ्जली चढाउन औ विद्यार्थीहरुमा राष्ट्रप्रेमको भाव सृजना गर्ने उद्देश्यले सेवक बजार प्राथमिक विद्यालयमा बलिदान दिवसमा विविध कार्यक्रम सम्पन्न भयो।
स्थानीय समाजसेवी तथा वरिष्ठ नागरीक श्री तुलसी प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विभागका अधिकारीवर्ग मेडम दिच्छेन वाईबा एआई रङ्लि रङलियट सर्कल श्री उत्तम रोय एसईओ एसआई मङपू सर्कलको बाहुलीबाट शहिद मेजर दुर्गा मल्लको प्रतिमामा दिप प्रज्वलन गरी श्रद्धाञ्जली चढाए, त्यसैगरी मङपू सर्कलका डिइओ श्री रूपेन दाहाल पनि उपस्थित थिए।
विद्यार्थीद्वय प्रेम विश्वकर्म अनि उषा प्रधानले संचालन गरेको कार्यक्रममा शिक्षिका बेनु शर्माले स्वागत भाषण राखिन्। कार्यक्रममा विद्यार्थीहरूले देश भक्तिगीत, कविता, मेजर दुर्गा मल्लको जीवनी लगायत, नृत्य आदि प्रस्तुत गरे। विशेष अतिथीको रुपमा सिङीमारी प्राथमिक विद्यालयका प्रधान शिक्षक श्री बद्री प्रसाद शर्माले शहीद श्रद्धाञ्जली अनि यस्ता कार्यक्रमले विद्यार्थीमा राष्ट्रभक्ति जाग्ने औ बौद्धिक विकास हुने बताउँदै सराहना गरे।
दोस्रो वरणको कार्यक्रममा तेस्रो, चौथो, अनि पाँचौ श्रेणीका विद्यार्थीहरूबाट बनाईएको चारवटा समूह १. दलबहादुर गिरी, २. दुर्गा मल्ल,३. जंगबीर सापकोटा, ४. सावित्री देवी समूहमाझ हाजिरी जवाब प्रतियोगिता (QUIZ COMPITITION) सम्पन्न भयो,जसमा १८० सर्वोच्च अंक ल्याएर दलबहादुर गिरी समूह ( सुदीप राई, महेन्द्र, हर्षा शर्मा, आरोही राय) विजय भए।उसै गरी बस अनि चित्र बनाऊ प्रतियोगितामा सुदीप राई प्रथम, रोनाल लामा दोस्रो अनि प्रेम विश्वकर्म तेस्रो भए।
स्थानीय युवा समाजसेवी देश लामा VEC/ ATTENDENCE COMMITTEE का पदाधिकारी अनि अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा पारा शिक्षक श्री सन्तोष राईले नेपाली गीत गाएर सबैलाई नचाए। कार्यक्रममा सबै अतिथि अनि अभिभावकको गरिमामय उपस्थिति औ सहयोगको निम्ति प्रधान शिक्षक श्री अरुण कुमार घतानीले धन्यवाद ज्ञापन गरे।