म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले लगातार तेस्रो जीत हासिल गऱ्यो। यस जीतको साथै टीमले शीर्ष स्थान हासिल गर्ने सम्भावनालाई मजबूत बनायो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले गेटाफेलाई २-०-ले पराजित गऱ्यो। केही दिन अघि च्याम्पियन्स लीगको निराशाजनक हारलाई भुलेर रियलले आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ७० प्रतिशत पोजेशनको साथ खेल्दै गेटाफेको चुनौतीलाई पार गऱ्यो। विजेता टीमबाट जूड बेलिंघमले ३०औं मिनट र कीलियन एम्बाप्पेले ३८औं मिनटमा गोल गरे। दोस्रो हाफको खेलमा गोल गर्ने केही सजिलो मौकाहरू नगुमाएको भए रियलको निम्ति जीतको अन्तर अझ ठूलो हुन सक्ने थियो। यस जीतपछि रियल म्याड्रिड १४ वटा म्याचमा ३३ पोइण्ट्सको साथ ला लीगा टेबलको दोस्रो स्थानमा पुग्यो। अहिले उनीहरूसँग शीर्षमा रहने बार्सिलोनाभन्दा केवल १ पोइण्ट कम्ती रहेको छ। यसबाहेक रियलले एउटा म्याच कम्ती पनि खेलेको छ। यसरी एथलेटिक क्लबले रायो भाल्लेकानोविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा शुरुमै गोल खाए पनि एथलेटिक क्लबले दोस्रो हाफमा असाधारण पुनरागमन गर्दै म्याच जित्यो। विजेता टीमबाट ओहिआन साञ्चेटले ६५औं र ७८औं मिनटमा २ गोल गरे। यसरी रायो भाल्लेकानोबाट रेण्डी एन्केताले १४औं मिनटमा गोल गरे। यस जीतपछि एथलेटिक क्लब गोल अन्तरको आधारमा २६ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। रियल सोसिएदादले चाहिँ रियल बेटिसविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट मिकेल ओयारजाबालले ३१औं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती (डिएगो लोरेण्टे, १४औं मिनट) रह्यो। रियल सोसिएदाद २१ पोइण्ट्सको साथ नवौं र रियल बेटिस २० पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ।