किसामा(नागाल्याण्ड): नागाल्याण्ड राज्यको महापर्व ‘२५औं हर्नबिल फेस्टिवल २०२४’ आजदेखि शुरु भयो। नागाल्याण्डका राज्यपाल ला गणेशन, मुख्यमन्त्री नेफियो रियोको मुख्य उपस्थितिमा शुरु भएको कार्यक्रममा सिक्किमले एक साझेदार राज्यको रूपमा सहभागी रहेको छ।
जापान, पेरु, युके अनि संयुक्त राज्य अमेरिका लगायत साझेदार देशका प्रतिनिधिहरू र देश-विदेशबाट आएका वरिष्ठ ब्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
फेस्टीवलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नागाल्याण्डका मुख्यमन्त्री नेफियो रियोले जनजातिहरूको संस्कार, परम्परालाई प्रदर्शित गर्ने यस महोत्सवमा राज्यका सबै नागरिकहरूलाई हर्नबिल फेस्टिवलको २५औँ वर्ष पूरा गरेकोमा बधाई दिए।
नागाल्याण्ड पर्यटन विभागद्वारा आयोजित २५औँ हर्नबिल फेस्टिवल २०२५-मा सिक्किम एक साझेदार राज्यको रूपमा रहेको छ भने सिक्किमका लगभग १५० सदस्यीय प्रतिनिधि टोलीले यस महोत्सवमा सिक्किमको समृद्ध संस्कार, परम्परा, संस्कृतिलाई समेत अवलोकन गर्ने छ। नागाल्याण्डको राजधानी कोहिमादेखि १२ किलोमिटर दुरीमा अवस्थित किसामा हेरिटेज भिलेजमा आजदेखि शुरु भएको अन्तरराष्ट्रिय स्तरको महोत्सव आगामी १० दिसम्बरसम्म चल्नेछ।
मुख्य रूपले नागा जनजातिको समृद्ध संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन गर्दै विश्वसामु पेश गर्ने उद्देश्यले २००० देखि शुरु गरिएको यस हर्नबिल फेस्टिवल आज अन्तरराष्ट्रिय स्तरमै सबैको ध्यान आकर्षित गराउन सफल भएको छ। यस महोत्सवमा भारतसँगै विश्वभरिबाटै मानिसहरू आउने गर्छन्। महोत्सवमा नागाल्याण्डका विभिन्न जनजातिहरूले आफ्नो समृद्धि संस्कृतिलाई प्रदर्शन गर्ने गर्दछन्।