गान्तोक: आत्मरक्षा, शारीरिक सुस्वास्थ्य र विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा कराटे शिक्षाको पनि महत्वपूर्ण भूमिका छ। यसका लागि प्रशिक्षण, कार्यशाला, प्रदर्शनी अत्यन्त आवश्यक छ।
यी विषयहरूलाई ध्यानमा राख्दै कालेबुङ जिल्ला अन्तर्गत लिङ्गसेमा विद्या भारती सिक्किमद्वारा सञ्चालित सरस्वती विद्या निकेतनमा विद्यार्थीहरूका लागि कराटे प्रशिक्षण शुरू गरिएको छ। विद्यार्थीहरूलाई पहिलेदेखि नै कराटे प्रशिक्षण प्रदान गरिॅंदैछ भने यस खेलमा विद्यार्थीहरू राम्रो प्रदर्शन पनि गरिरहेका छन्। विद्यार्थीहरूले विभिन्न प्रतियोगिताहरूमा पुरस्कार जितेर विद्यालयको नाम समेत रोशन गरिरहेका छन्।
विद्यार्थीहरूलाई कराटे प्रशिक्षण प्रदान गर्ने कार्यमा कराटेका एक अनुभवी प्रशिक्षक पूर्व आचार्य कुलहरि राईको ठूलो योगदान रहेको विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले बताएका छन्। राईले सिक्किमलगायत कालेबुङ, दार्जिलिङ, सिलगढी तथा देशका अन्य स्थानहरूमा पनि कराटे प्रशिक्षणको कार्य गरेको उनले अवगत गराए। पढ़ाईका साथै विद्यार्थीहरूको शारीरिक सुस्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिएर विद्या भारतीले काम गर्दै आइरहेको संयोजक शर्माले बताएका छन्।