गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १६औँ रोलू दिवसको तयारी कार्य शुरू गरिएको छ। दक्षिण सिक्किमको रोलू परिसरमा वार्षिक रूपमा आयोजन हुने यो कार्यक्रम यसपालि पनि भव्यताका साथ सम्पन्न गरिने निधो गरिएको छ। कार्यक्रमका लागि तयारी कार्य तीव्र अघि बढ़ेको छ। पन्डाल निर्माण र फाँडफुँडको कार्य निरन्तर चलिरहेको छ। आज पार्टी अध्यक्ष तथा मुख्यमन्त्रीको निर्देशनमा आयोजक समितिका अध्यक्ष तथा मल्ली निर्वाचन क्षेत्रका विधायक एनबी प्रधानसहित मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेका छन्। टोलीमा पार्टीका सोसियल मिडिया अध्यक्ष नवीन दाहाल, मल्ली समष्टि स्तरीय अध्यक्ष ओटी लेप्चा, जिल्ला पञ्चायत नियोमी लेप्चा लगायत पार्टी कार्यकर्ताहरूको सहभागीता रहेको थियो। समारोहको तयारीका लागि पार्टी कार्यकर्ताहरू लगातार लागि परेका छन् भने मल्ली निर्वाचन क्षेत्रका युवा, नारीहरूको सक्रिय सहभागीता रहेको छ। जानकारी गराइन्छ, प्रतिवर्ष सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले रोलू दिवस विशेष महत्तवका साथ पालन गर्दछ भने यसपालि पनि आउँदो २१ दिसम्बरका दिन रोलू परिसरमा भव्य समारोह आयोजन गरिँदैछ। कार्यक्रममा पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा सहभागी बनेर सम्बोधन गर्नेछन्।










