लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले एकतर्फी जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले वेष्ट ह्यामलाई ५-२-ले पराजित गऱ्यो। यस म्याचको सातैवटा गोल पहिलो हाफको खेलमा दर्ता गरियो। यस अवे म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनल ३६ मिनटसम्म ४-०-ले अघि रहेको थियो। त्यसपछि होम टीमले लगातार २ गोल गरे पनि मध्यान्तरको ठीक अघि अझ एक गोल गरेर आर्सनलले आफ्नो जीत सुनिश्चित गऱ्यो। विजेता टीमबाट गेब्रिएल मागालहासले १०औं, लिएण्ड्रो ट्रोसार्डले २७औं, मार्टिन ओडेगार्डले ३४औं, काई हावेर्त्जले ३६औं र बुकायो साकाले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरे। यसरी वेष्ट ह्यामबाट आरोन वान-बिस्साकाले ३८औं र एमरसन पाल्मिएरीले ४०औं मिनटमा गोल गरे। यस जीतको साथै आर्सनल १३ वटा म्याचमा २५ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलमा दोस्रो स्थानमा रहन पुग्यो। यसरी वेष्ट ह्याम १५ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ। यसरी ब्राइटन र साउथम्प्टनबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राइटनबाट काओरु मितोमाले २९औं मिनटमा गोल गरे। यसरी साउथम्प्टनबाट फ्लिन डोनेसले ५९औं मिनटमा गोल गरे। यस ड्र पछि ब्राइटन २३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रह्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा बोर्नमाउथले वूल्भ्सलाई ४-२-ले, नटिंघम फरेष्टले इप्सविच सिटीलाई १-०-ले अनि ब्रेण्टफोर्डले लिस्टर सिटीलाई ४-१-ले पराजित गऱ्यो। यसरी क्रिस्टल प्यालेस र न्यूक्यासलबीचको म्याच १-१-ले ड्र रह्यो।