लहान: सिरहामा मदिरा (रक्सी) तस्करी गर्ने गाडीले ठक्करबाट सशस्त्र प्रहरी बलका सइ (सशस्त्र प्रहरी सब इन्स्पेक्टर )को मृत्यु भएको छ।
घटना बरियारपट्टी गाउँपालिका– १ कचनारीको हो । गाडीले ठक्कर दिँदा बीओपी (बोर्डर आउट पोस्ट) बरहरीमा कार्यरत सशस्त्रका सइ लक्ष्मणप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ड्युटीमै रहेका बेला आज बिहानका राति करिब ३ बजेतिर यादवलाई गाडीले ठक्कर दिएको हो। चारपांग्रे गाडीले ठक्कर दिए पनि गाडी नम्बर खुलेको छैन।
सिरहा प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार मदिरा तस्करी गरिरहेको सूचनाका आधारमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाडी रोक्न खोजेको थियो। तर, मोटरसाइकलमा ड्युटीमा रहेका सशस्त्रलाई ठक्कर दिएर गाडी भारततर्फ भागेको उनले बताए।
गाडीको नम्बर र चालकको पहिचान खुल्न नसकेको एसपी पण्डितले बताए। गाडीको खोजतलास तीव्र पारिएको उनको भनाइ छ। भारतको विहारमा मदिरा प्रतिबन्ध छ। तर, मधेस प्रदेशका सिमावर्ती क्षेत्रबाट मदिरा बिहारतिर तस्करी हुन्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सशस्त्रका सइलाई ठक्कर दिएको गाडी पनि मदिरा तस्करीमा प्रयोग हुँदै आएको खुलेको छ। स्थानीयले पनि प्रहरीलाई त्यही जानकारी दिएका छन्।
मोटरसाइकलमा सवार रहेका सब इन्स्पेक्टर यादवलाई ठक्कर दिने गाडी तीव्र गतिमा थियो। गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पतालमा राखिएको छ। सीमा नाकामा सुरक्षा कडाइ गरेर गाडीको खोजी जारी राख्दै घटनाको अनुसन्धान अघि बढाइएको एसपी पण्डितले बताए।