कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा जर्जियन युनाइटेड फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। मंगलधुरा खेल मैदानमा शनिवार भएको म्याचमा जर्जियन युनाइटेडले केएनजेएस सिक्किमविरुद्ध ७-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट कुञ्जमान थापाले २ गोल गरे। यसबाहेक प्रवीण सुब्बा, बसन्त राई, किरण गुरुङ, शरद मुण्डा, र रुलेन लेप्चाले १-१ गोल गरे। आइतवार खेलिने म्याचमा दार्जीलिङ पुलिस र जर्ज सेवेनबीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।