उर्लाबारी: सामाजिक कार्यमा अग्रसर रहँदै आएको रोट्याक्ट क्लब अफ उर्लाबारीले उर्लाबारीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उर्लाबारी चौकमा भएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष अंकुश अग्रवालले बताए। रोटरी क्लब अफ उर्लाबारीको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रममा रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष मुकुन्द निरौला, पूर्वअध्यक्षहरु सुरेन्द्र सुवेदी, हेमचन्द्र भट्टराई, विनोद न्यौपाने, रोट्याक्ट क्लब अफ उर्लाबारीका संस्थापक अध्यक्ष संजय बाहेती, पूर्वअध्यक्ष सुनिल सुवेदी, रेडक्रस उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुली लगायतको आतिथ्यता रहेको थियो। रोट्याक्ट क्लब अफ उर्लाबारीले यसअघि पनि सामाजिक कार्य अन्तर्गत विविध कार्यक्रम गर्दै आएको छ। जाडोमा न्यानो कपडा वितरण, सरसफाई कार्यक्रम, प्रहरीसँग राखी, आमासँग तिज कार्यक्रम, शेयर कारोबार सम्बन्धी विभिन्न तालिम, अन्तर्राष्ट्रिय क्लबसँग सहकार्य गर्दै वृक्षरोपण तथा अन्य सामाजिक कार्यक्रम गर्दै आएको संस्थापक अध्यक्ष संजय बाहेतीले बताए। उनले सबैको साथ र सहयोगले क्लबले आगामी दिनमा अझै सामाजिक सेवाका कार्य गर्दै जाने बताए।