क्राइस्टचर्च: ईंग्ल्याण्डविरुद्ध जारी पहिलो क्रिकेट टेस्ट म्याचमा आयोजक न्यूजील्याण्ड चरम संकटमा परेको छ। म्याचमा न्यूजील्याण्डले आफ्नो पहिलो ईनिंग्समा ३४८ रन बनाएको थियो। शनिवार ईंग्ल्याण्डले ४९९ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १५१ रनको महत्त्वपूर्ण बढ़त हासिल गऱ्यो। त्यसपछि आज तेस्रो दिनको खेल समाप्त हुँदासम्म न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा केवल १५५ रन बनाएर ६ विकेट गुमायो। यसरी न्यूजील्याण्डसँग अहिले केवल ४ रनको बढ़त रहेको छ अनि हातमा केवल ४ विकेट अनि पूरा २ दिनको खेल बाँकी छ। यसरी आयोजक टीम चौथो दिन नै पराजित हुने लगभग तय छ। आज खेल समाप्त हुँदासम्म डेरिल मिचेल ३१ र न्याथन स्मिथ १ रनमा अविजित थिए। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा ईंग्ल्याण्डका दुईजना पेस बलर क्रिस वोक्स र ब्रायडन कार्सेले ३-३ विकेट लिए। न्यूजील्याण्डको दोस्रो ईनिंग्समा शुरुवात नै खराब रह्यो अनि २३ रनसम्म दुवै ओपनर आउट भइसकेका थिए। यसमा कप्तान टम लाथमले १ र डेवोन कनवेले ८ रन बनाए। त्यसपछि केन विलियम्सनले फेरि एकपल्ट उत्कृष्ट ब्याटिंग गर्दै टीमको निम्ति सर्वाधिक ६१ रन बनाए। उनले ८६ बल खेलेर ७ वटा चौका लगाए। विलियम्सनले पहिलो ईनिंग्समा पनि ९३ रन बनाएका थिए। रचिन रविन्द्रले २४ रनको योगदान दिए। मध्यक्रममा टम ब्लण्डेल (शून्य) र ग्लेन फिलिप्स (१९ रन) झटपट आउट हुँदा न्यूजील्याण्ड समस्यामा जाँकियो। यसअघि आज बिहान शुक्रवारको स्कोर ५ विकेटमा ३१९ रनदेखि अघि खेल्दै ईंग्ल्याण्डले १८० रन बनाएर रहल ५ विकेट गुमायो। शुक्रवार अविजित रहने ह्यारी ब्रूक र कप्तान बेन स्टोक्सले छैटौं विकेटको निम्ति १५९ रनको पार्टनरशीप गरे। ब्रूक आज १७१ रन बनाएर आउट भए। उनले १९७ बल खेलेर १५ वटा चौका र ३ वटा छक्का लगाए। यसरी स्टोक्सले १४६ बल खेलेर ९ वटा चौकाको साथ ८० रन बनाए। ईंग्ल्याण्डको निम्ति तल्लो क्रममा गस एटकिन्सनले ४८ र कार्सेले अविजित ३३ रन बनाए। यी दुईजनाले पनि आठौं विकेटको निम्ति ६३ रन योग गरी टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरीले सर्वाधिक ३ विकेट लिए।