इस्कोनसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध बंगलादेशका वित्तीय अधिकारीहरूले गरे कारबाही

iskcon-bangladesh_325ed8a1c8994a39aaec24c31f3a1346

बंगलादेशका वित्तीय अधिकारीहरूले इस्कोनसँग सम्बन्धित १७ व्यक्तिको ब्यांक खाता एक महिनाका लागि रोक्का गरेका छन्। यसमा हिन्दू समुदायको एक प्रमुख अनुहार चिन्मय कृष्ण दासको खाता पनि समावेश छ। मिडिया रिपोर्टका अनुसार बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (बीएफआईयु) ले बिहीबार विभिन्न ब्यांक तथा वित्तीय संस्थाहरूलाई यी खाताहरूबाट आगामी ३० दिनसम्म कारोबार रोक्न आदेश जारी गरेको छ। साथै बीएफआईयुले यी १७ जनालाई आफ्ना सबै व्यवसायको ब्यांक खाताको ताजा र अद्यावधिक विवरण तीन कार्यदिवसभित्र सम्बन्धित ब्यांकमा बुझाउन भनेको छ। बंगलादेशस्थित सनातनी जागरण जोत संगठनका प्रवक्ता चिन्मय कृष्ण दासलाई सोमबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी देशद्रोहको अभियोग लगाइएको छ। मंगलबार चटगाउँको एक अदालतले उनलाई जमानत अस्वीकार गर्दै जेल पठाएको थियो। दास समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदा एक वकिलको मृत्यु भएको छ। चिन्मय यसअघि बंगलादेशमा रहेको इन्टरनेशनल सोसाइटी फर कृष्णा चेतना (इस्कोन) को प्रवक्ता भइसकेका छन्।

यसअघि भारत सरकारले बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको हिंसा र चिन्मय कृष्ण दासलाई पक्राउ गरेकोमा पनि चिन्ता व्यक्त गरेको थियो। विदेश मन्त्रालयले बंगलादेशको ‘समिलित सनातन जोत’का प्रवक्ता चिन्मय कृष्ण दासलाई पक्राउ गरी जमानत अस्वीकार गरेकोमा गहिरो चिन्ता व्यक्त गरेको जनाएको छ। ‘बंगलादेशमा चरमपन्थी तत्वहरूले हिन्दू र अन्य अल्पसंख्यकहरूमाथि धेरै आक्रमणहरू गरेपछि यो घटना हो। हामी बंगलादेशका अधिकारीहरूलाई हिन्दू र सबै अल्पसंख्यकहरूको शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सहितको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछौं’, यसो भनिएको छ। यसै क्रममा बंगलादेशले भारतको भनाइलाई अस्वीकार गर्दै भनेको थियो, ‘यस्ता आधारहीन कथनहरूले तथ्यलाई गलत प्रस्तुत गर्ने मात्र होइन, दुई छिमेकी देशबीचको मित्रता र समझदारीको मर्मविपरीत पनि छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement