कोलकाता: क्यान्सर उपचारमा अग्रणी अपोलो क्यान्सर सेन्टर (एसीसी) ले फोक्सोको क्यान्सर छिटो पत्ता लगाउन भारतको पहिलो लङलाइफ स्क्रिनिङ कार्यक्रम शुरु गरेको एक प्र्तेस विज्ञप्तिमा बताएको छ। यो अभूतपूर्व प्रयासको उद्देश्य फोक्सोको क्यान्सरलाई नियन्त्रणमा ल्याउनु हो, जसले भारतमा सबै क्यान्सरको ५.९ प्रतिशत र क्यान्सरसँग सम्बन्धित मृत्युको ८.१ प्रतिशत योगदान पुर्याउँछ। समयमै पत्ता लगाउन सकिएमा उपचारको राम्रो परिणाम प्राप्त हुन्छ र बाँच्ने दर बढ्छ। अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) द्वारा तयार पारिएको ग्लोबोक्यान २०२० को अनुमानले देखाउँछ कि फोक्सोको क्यान्सर क्यान्सरबाट हुने मृत्युको मुख्य कारण हो, २०२० मा करिब १.८ मिलियन मृत्यु (१८ प्रतिशत।
लङलाइफ स्क्रिनिङ कार्यक्रमको लक्ष्य उच्च जोखिम भएका व्यक्तिहरूलाई केन्द्रित गर्नु हो, जस्तै:
- ५० देखि ८० वर्ष उमेरका व्यक्ति
- लक्षण नदेखिएका (फोक्सोको क्यान्सरको कुनै संकेत वा लक्षण नदेखिएका) व्यक्ति
- धूम्रपानको लामो इतिहास भएका व्यक्ति
- फोक्सोको क्यान्सरको पारिवारिक इतिहास भएका व्यक्ति।
प्रेस विज्ञप्तिमा बताइएअनुसार, कम डोज कम्प्युटेड टोमोग्राफी (एलडीसीटी) मार्फत प्रारम्भिक परीक्षणले क्यान्सरको चाँडै पत्ता लगाउन सहयोग गर्नसक्छ र बाँच्ने दरलाई उल्लेखनीय रूपमा सुधार गर्नसक्छ। तर पनि, झण्डै ८० प्रतिशत उच्च जोखिम भएका व्यक्तिहरूले आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग स्क्रिनिङबारे कहिल्यै चर्चा गरेका छैनन्। स्क्रिनिङ र प्रारम्भिक निदान सक्षम बनाउनका लागि विशेषगरी उच्च जोखिम भएका समुदायहरूबीच जानकारी र सचेतना बढाउनु महत्त्वपूर्ण छ।
स्क्रिनिङ कार्यक्रमका मुख्य विशेषताहरू:
- बिरामी पञ्जीकरण र कागजी प्रक्रिया
- पल्मोनोलोजिस्टसँग परामर्श
- पल्मोनरी फन्क्सन टेस्ट (पीएफटी)
- कम डोज सीटी स्क्यानमार्फत फोक्सोको क्यान्सर छिटो पत्ता लगाउने सुविधा।
अपोलो क्यान्सर सेन्टर कोलकाताका वरिष्ठ सल्लाहकार पल्मोनोलोजी डा अशोक सेनगुप्ताले भने, “फोक्सोको क्यान्सर संसारभरि सबैभन्दा घातक क्यान्सरमध्ये एक हो, तर समयमै पत्ता लगाउन सकिएमा बाँच्ने सम्भावना बढ्छ। हाम्रो लङलाइफ स्क्रिनिङ कार्यक्रममार्फत हाम्रो लक्ष्य उच्च जोखिम भएका व्यक्तिहरूको पहिचान गर्नु हो। यसका लागि हामी कम डोज सीटी प्रविधिको प्रयोग गर्छौं, जसले विकिरण जोखिमलाई न्यून गर्दै परीक्षणको सटीकता उच्च बनाउँछ। यो कार्यक्रम विशेष गरी धूम्रपान गर्नेहरू, निष्क्रिय धूम्रपानमा परेका व्यक्ति वा फोक्सोको क्यान्सरको पारिवारिक इतिहास भएकाहरूका लागि प्रभावकारी छ।” अपोलो क्यान्सर सेन्टरका मेडिकल सेवा निर्देशक डा. सुरिन्दर सिंह भाटियाले कार्यक्रमको सफल सञ्चालन गरेका छन्। “उपचार योग्य अवस्थामा फोक्सोको क्यान्सरको पहिचान गरेर, हामी बिरामीहरूलाई राम्रो उपचारको विकल्प प्रदान गर्दै सशक्त बनाउँछौं र स्वस्थ भविष्यको आशा जगाउँछौं,” उनले भने।