जलपाईगढी: मैनागढी ब्लकको ग्राम पञ्चायत सप्तीबारी नम्बर दुईका नबिउल आलमले आफ्नो जन्मदिनमा विशेष पहल गरे। आफ्नो जन्मदिनको यो विशेष दिनमा उनले साप्तीबारी नम्बर दुई ग्राम पञ्चायतको पूर्वी बरोघरिया गाउँका जनतालाई वर्षभरिको खाना उपलब्ध गराउने पहल गरेका हुन्। जसको नाम अन्नदान राखिएको छ।

बुधबार आफ्नो जन्मदिनको अवसर पारेर उनले यो कार्यक्रमको शुरु गरेका हुन्। कार्यक्रममा पद्मश्री करीमुल हक, प्रख्यात समाजसेवी राममोहन रोय, प्रख्यात पर्यावरणविद तथा कवि दिनेश विश्वास, राष्ट्रिय स्तरकी संगीत कलाकार कनिका रोयलगायतको उपस्थिति थियो। यस कार्यक्रम मार्फत क्षेत्रका गरिब तथा असहाय जनतालाई खाना उपलब्ध गराउने छ। साथै कार्यक्रममा गरिबहरुलाई हिउँदे लुगा वितरण गरियो। नबिउल आलमको यो पहललाई क्षेत्रका जनताले प्रशंसा गरे। यसका साथै मञ्चमा उपस्थित आमन्त्रित व्यक्ति र सर्वसाधारणलाई बिरुवा वितरण गरियो।