आगामी दिसंबर १को उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ। बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू भएको हो।
मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था छ। मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। जिल्ला समन्वय समिति प्रमुख २, मेयर र उपमेयर १-१, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।
मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ वटा मतदान केन्द्र कायम गरिएका छन्। निर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।४४ पदमध्ये ३ पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन्।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।