लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन रियल म्याड्रिड फेरि पराजित भयो। बुधवार राति खेलिएको म्याचमा स्पेनिश क्लब रियल म्याड्रिडलाई लिभरपूलले २-०-ले पराजित गऱ्यो। च्याम्पियन्स लीगको जारी सीजनमा यो रियल म्याड्रिडको गत चारवटा म्याचमा तेस्रो हार हो। असाधारण फर्ममा रहने लिभरपूलले आफ्नो होम ग्राउण्ड एनफील्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्दै स्पेनिश टीमलाई कुनै मौका दिएन। विजेता टीमबाट एलेक्सिस म्याक एलिस्टरले ५२औं र कोडी गाक्पोले ७६औं मिनटमा गोल गरे। अहिलेसम्म ५ वटा म्याच खेलेर सबै जित्ने लिभरपूल १५ पोइण्ट्सको साथ च्यम्पियन्स लीग टेबलको शीर्षमा कायम रह्यो। यसरी केवल ६ पोइण्ट्सको साथ रियल म्याड्रिड चाहिँ २४औं स्थानमा रहन पुग्यो।
इटलीको क्लब युभेण्टसलाई पनि एस्टन भिल्लाले गोलरहित ड्र (०-०)-मा रोक्यो। आफ्नो होम ग्रााउण्ड भिल्ला पार्कमा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने प्रीमियर लीग क्लबले युभेण्टसको हरेक आक्रमणलाई विफल पाऱ्यो। यस निरस ड्र पछि एस्टन भिल्ला १० पोइण्ट्सको साथ गोल अन्तरको आधारमा नवौं स्थानमा रहन पुग्यो। यसरी युभेण्टस ८ पोइण्ट्सको साथ १९औं स्थानमा रहेको छ। बोरुसिया डर्टमण्डले चाहिँ डिनामो जाग्रेबविरुद्ध ३-०-ले सजिलै जीत हासिलल गऱ्यो। यस अवे म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन क्लबबाट जेमी गिटेन्सले ४१औं, रेमी बेन्सेबेनीले ५६औं र शेरहो गुइरास्सीले ९०औं मिनटमा गोल गरे। यस जीतपछि डर्टमण्ड ५ वटा म्याचमा १२ पोइण्ट्सको साथ चौथो स्थानमा पुग्यो। सर्बियाई क्लब श्रवेना ज्वेज्दाले भीएफबी स्टटगार्टलाई ५-१-ले पिट्यो। बुधवार राति खेलिएको अन्य म्याचहरूमा एसके स्ट्रम ग्राजले गिरोनालाई १-०-ले, बेनफिकाले मोनाकोलाई ३-२-ले, पीएसभी-ले शाख्तर डोनेस्कलाई ३-२-ले अनि फ्रान्सीसी क्लब एलओएससी लिलीले बोलोग्नालाई २-१-ले पराजित गऱ्यो। सेल्टिक र क्लब ब्रूगेबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।