भरतपुर: चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहआयोजनामा दिसंबर २६ देखि ३० सम्म महोत्सव सञ्चालन हुने भएको छ। सो महोत्सवबारे जानकारी दिदै क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव गुणराज थपलियाले महोत्सवले चितवनको मात्रै नभएर समग्र देशकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए। विसं १९९९ देखि सुरु भएको हात्ती महोत्सव कोराना महामारीको समयमा तीन वर्ष रोकिए पनि गत वर्षदेखि पुनः संचालनमा आएको जानकारी दिए। होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले पनि महोत्सवका कारण चितवनमा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आवागमनमा वृद्धि हुने भएकाले महोत्सव कोसेढुङ्गा साबित हुँदै आएको धारणा राख्छन्। पाँच दिनसम्म सञ्चालन हुने सो महोत्सवमा ८० वटा हात्तीको सहभागिता रहने छ। र महोत्सवमा हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौडलगायतका प्रतियोगिता हुने छ। महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बिटुबी कार्यक्रम, स्थानीय वेशभूषा तथा कलासंस्कृतिको संरक्षण, कलाकारको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्धनात्मक कार्यक्रम हुने छ। क्षेत्रीय होटेल सङ्घका अनुसार गत आर्थिक वर्षमा सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटकहरुको आगमन भएको थियो। तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज समेत अवलोकन गरेको जनाएको छ।










