गान्तोक: मगर भाषामा लिखित कवि विष्णु राना मगरको कविता सङ्ग्रह ‘आरमेट’-को बुधवार गान्तोकमा एक कार्यक्रमका बिच लोकार्पण भयो। भारतबाट मगर भाषामा प्रकाशित यो पहिलो कविता सङ्ग्रह हो।
लोकार्पण कार्यक्रममा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउत, नेपाली साहित्य परिषद् सिक्किमका महासचिव निलम न्यौपाने, साहित्य एकाडेमी दिल्लीको परामर्श समितिका सदस्य जीएस लिम्बू, मगर भाषाका पाठ्यपुस्तक अधिकारी सुरेन मगर, सिक्किम माझी संघका महासचिव बुद्धसिंह माझी र मगर संघका प्रतिनिधिहरू दिपेन मगर र रोहित मगरको विशेष उपस्थिति थियो।
कविता सङ्ग्रह ‘आरमेट’-का सर्जक विष्णु राना राष्ट्रिय मगर संघका अध्यक्ष पनि हुन्। उनले आफ्नो मन्तब्यमा बाल-बालिकाहरूलाई लक्ष्य गरेर कविता सङ्ग्रह प्रकाशित गरिएको बताए। आरमेटको अर्थ सम्झना रहेको बताउँदै उनले भारतबाट मगर भाषामा प्रकाशित यो पहिलो कविता सङ्ग्रह रहेको दाबी पनि गरे। पाठ्य पुस्तक अधिकारी सुरेन मगरले पुस्तकबारे जानकारी गराएका थिए।
सो अवसरमा उनलाई प्रेस क्लब, साहित्य परिषद् र साहित्य अकादेमीको पक्षबाट क्राउत, निलम न्यौपाने र जीएस लिम्बूले बधाई दिँदै भविष्यमा अझ अन्य कृतिहरू साहित्यिक ढिकुटीमा थप्ने आशा राख्दै शुभकामना दिए।