गान्तोक: बहुप्रतीक्षित सेवक-रम्फू रेल परियोजना पूरा हुन अब तीन किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने जानकारी रेल मन्त्रालयले दिएको छ। यसैगरी, मन्त्रालयले रम्फू-गान्तोक नयाँ लाइन परियोजनाको निम्ति पनि अन्तिम स्थान सर्वेक्षण स्वीकृत गरेको बताए।
सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले रेलमन्त्री अश्विनी वैष्णव समक्ष सेवक-रम्फू रेल परियोजना पूरा हुने अनुमानित समय र यसको लागत विवरण लगायत राजधानी गान्तोकलाई जोड्नका लागि रम्फू-गान्तोक रेलवे लाइन विस्तार सम्बन्धित केन्द्र सरकारको प्रस्तावबारे जानकारी माग गरेका छन्।
रेल मन्त्रीले आफ्नो लिखित जवाफमा संसदलाई जानकारी गराउॅंदै सेवक-रम्फू (४४ किलोमिटर) रेल परियोजनाको अनुमानित लागत १२,१३२ करोड रुपियाँ रहेको बताएका छन्। उनले २०२४-२५ को लागि २,३३० करोडको परिव्ययसहित मार्च २०२४ सम्म ७,०३२ करोड रुपैयाँ खर्च गरिएको बताएका छन्। केन्द्रिय मन्त्रीले सेवोक रम्फू रेल परियोजना अन्तर्गत लगभग ३९ किलोमिटर सुरुङ रहेको र त्यसमध्ये ३६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भइसकेको अवगत गराएका छन्।
रेलवे परियोजनाहरू पूरा हुने अपेक्षित समयको बारेमा जानकारी दिॅंदै रेल मन्त्रीले रेलवे परियोजनाहरू पूरा हुन राज्य सरकारद्वारा भूमि अधिग्रहण, वन विभागका अधिकारीहरूद्वारा स्वीकृति, विभिन्न अधिकारीहरूबाट वैधानिक स्वीकृति, क्षेत्रको भूगर्भीय र भौगोलिक अवस्था, यस क्षेत्रको कानून र व्यवस्थाको स्थिति आदि जस्ता विभिन्न कारकहरूमा निर्भर रहेको जनाए। यी सबै कारणहरूले परियोजना पूरा हुने समय र लागतलाई प्रभावित गर्ने उनले बताए।
यसैगरी, रम्फू-गान्तोक रेलवे लाइन (६९ किलोमिटर) सँग सम्बन्धित प्रश्नमा रेल मन्त्रीले रम्फू-गान्तोक नयाँ लाइन परियोजनाको निम्ति डीपीआर तयार गर्न अन्तिम स्थान सर्वेक्षणलाई स्वीकृति प्रदान गरिएको जानकारी दिए। सांसद इन्द्रहाङ सुब्बाले सेवक रम्फू रेल परियोजनाको बारेमा रेलमन्त्रीले दिएको स्पष्टताको स्वागत गरेका छन्। सिक्किमको ५०औं राज्य स्थापना वर्षको अवसर पारेर सन् २०२५ को अन्त्यसम्ममा सेवक रम्फू रेल मार्ग निर्माण सम्पन्न हुने र सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरेका छन्।उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा सिक्किम विकास र प्रगतिको स्वर्णिम दशकमा प्रवेश गर्न तयार रहेको बताएका छन्। उनले सेवक रम्फू रेलमार्गको समयमै निर्माण सम्पन्न र उद्घाटनले सिक्किमको विकास, विशेष गरी पर्यटन र आतिथ्य क्षेत्रमा रूपान्तरणकारी उत्प्रेरकको रूपमा काम गर्ने सांसद सुब्बाले आज जारी विज्ञप्तिमा बताएका छन्।