दार्जिलिङ: पश्चिम बंगाल अनुसूचित जाति र अनुसूचित जनजाति र अन्य पछौटेवर्ग विकास र वित्त निगम दार्जिलिङ शाखा, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले आज दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा एउटा कार्यक्रम आयोजना गरेर वित्तीय वर्ष २०२४-२०२५ को लागि एससीपी/एमएसवाईको ऋण लाभार्थीहरुलाई वितरण गरेको छ। महिला सम्बृद्धि योजना अन्तर्गत (MSY) ९ वटा एसएचजी(SHG)-लाई ऋण दिइयो। स्व-सहायता समूहका ९ जना सदस्यहरूलाई सुँगुर पालन, कुखुरा पालन, किराना पसल अनि रेस्टुरेन्ट खोल्न ऋण दिइयो। ऋण रु. १० हजार देखि १ लाख सम्मको रहेको छ। सबै लोनमा सबसिडी पनि दिइएको छ। महिला समृद्धि योजना (MSY) गरिब र पछौटेवर्गका पृष्ठभूमिका स्व-सहायता समूहहरू (SHGs) लगायत महिला उद्यमीहरूलाई लघु-वित्त प्रदान गर्ने योजना हो।
विशेष घटक योजना (Special Component Plan: SCP) अन्तर्गत तीन जना एसी(SC), एसटी(ST) अनि ओबीसी(OBC) वर्गका व्यक्तिहरूलाई कुखुरा पालनको खोर बनाउन लोन दिइयो। लोनको रकम प्रति व्यक्ति रू.१० हजार रहेको छ।
पश्चिम बंगाल अनुसूचित जाति र अनुसूचित जनजाति विकास र वित्त निगमले गरिबी रेखा मुनि रहेका अनुसूचित जनजातिहरूको लागि अनुसूचित जाति र जनजाति उप योजना (TSP) योजनाको लागि विशेष घटक योजना (SCP) योजना सुरु गरेको छ।
जीटीएका मुख्य जनसम्पर्क अधिकारी एसपी शर्माले जानकारी दिए अनुसार आजको ऋण वितरण कार्यक्रममा सभासद भुपेन्द्र छेत्री, विभागीय अधिकारीहरू अनि उनी स्वयं उपस्थित थिए। जम्मा १२ जनालाई आज लोन वितरण गरियो। शर्माले भने कि यदि गाउँ घरमा कोहीपनि अनुसूचित जाति, अनुसूचित जनजाति अनि पिछडिएको वर्गको व्यक्तिहरुले विभागबाट ऋणको सुविधा लिनु चाहे नजिकको विभागको कार्यलय मा सम्पर्क गर्नु सक्नेछन्। यो ऋण आर्थिक विकासको लक्ष्य लिएर कुनै पनि आर्थिक गतिविधि गर्न चाहने व्यक्तिलाई प्रदान गरिन्छ।