नयाँ दिल्ली: राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-ले ठूलो कार्वाही गर्दै भारतका स्टार पहलवान बजरंग पूनियालाई ४ सालको निम्ति निलम्बित गऱ्यो। पहलवानले राष्ट्रिय टीमको निम्ति चयन ट्रायलको अवधि १० मार्चमा डोप परीक्षणको निम्ति आफ्नो नमूना दिन अस्वीकार गरेका थिए। नाडाले टोक्यो ओलम्पिकमा काँस्य पदक विजेतालाई यस अपराधको निम्ति सबैभन्दा पहिला २३ अप्रेलमा निलम्बित गरेको थियो। त्यसपछि यूडब्ल्यूडब्ल्यू-ले पनि उनलाई निलम्बित गरेको थियो। बजरंगले पनि अन्तरिम निलम्बनविरुद्ध अपील गरेका थिए। नाडाको अनुशासनात्मक डोपिंग प्यानल (एडीडीपी)-ले ३१ मईमा यसलाई (निलम्बन) नाडाद्वारा नोटिस जारी नगरिञ्जेलसम्मको निम्ति रद्द गरेको थियो। त्यसपछि नाडाले २३ जूनमा पहलवानलाई नोटिस पठाएको थियो। बजरंगले ११ जुलाईमा लिखित रूपमा आरोपहरूलाई चुनौती दिएका थिए। त्यसपछि २० सेप्टेम्बर र ४ अक्टोबरमा सुनुवाई भएको थियो। एडीडीपी-ले आफ्नो आदेशमा भनेको छ, प्यानलको विचारमा एथलीट अनुच्छेद १०.३.१-अन्तर्गत प्रतिबन्धहरूका निम्ति उत्तरदायी छन् अनि उनलाई ४ सालको अवधिको निम्ति अयोग्य घोषित गरिन्छ। यस निलम्बनले गर्दा बजरंग अब प्रतिस्पर्धी कुश्तीमा फर्किन सक्नेछैनन्। यसको साथमा उनले विदेशमा प्रशिक्षकको नोकरीको निम्ति आवेदन पनि गर्न सक्नेछैनन्। आदेशमा अझ भनिएको छ, एथलीटको ४ सालको अयोग्यताको अवधि त्यही तारिखदेखि शुरु हुनेछ जुन दिन अधिसूचना पठाइएको थियो। उल्लेखनीय छ, बजरंगलाई अधिसूचना यस साल २३ अप्रेलमा पठाइएको थियो।