गान्तोक: नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रका नेत्र रोगीहरूको उपचार र शल्यक्रियाका लागि १५ जनाको टोली आज मेची नेत्रालय पुगेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा क्षेत्र विधायक तथा सल्लाहकार सञ्जित खरेलले आफ्नो समष्टिका आँखा रोगीहरूको शल्यक्रिया गराउन मेची नेत्रालयमा नि:शुल्क शिविर आयोजन गरेका छन्।
यसअघि विधायक खरेलले २५ जना रोगीहरूको शल्यक्रिया सम्पन्न गराएर सुरक्षित घर फर्काए भने आज दोस्रो चरणका लागि शिविरमा बिरामीहरू पुऱ्याइएको छ। उपचारमा लाग्ने सबै खर्च विधायक स्वयंले बेहोर्दै आएका छन्। शिविरमा पानी र औषधिको प्रावधान समेत नि:शुल्क गरिएको छ।
आफ्नो समष्टिको गरिबी रेखा मुनिका परिवारका रोगीहरूले उपचारका लागि कुनै खर्च बेहोर्नु नपरोस् भन्ने उद्देश्यले विधायक खरेलद्वारा यो पहल गरेको बताइएको छ। यस पहलअन्तर्गत क्षेत्रका थुप्रै बिरामीहरूले यसबाट लाभ प्राप्त गरिरहेका छन् भने नि:शुल्क रूपमा गुणस्तरीय चिकित्सा सेवा सुनिश्चित गराइएकोमा लाभार्थीहरूले समष्टि विधायक सञ्जित खरेल, उनकी धर्मपत्नी आशा खरेल साथै उपचारका निम्ति लागि परेका पार्टी कार्यकर्ताहरूप्रति कृतज्ञता प्रकट गरेका छन्।