राजधानी गान्तोकसहित विभिन्न क्षेत्रमा संविधान दिवस पालन

IMG-20241126-WA0269

गान्तोक: कार्मिक विभागको पहलमा आज राजधानीस्थित चिन्तन भवनमा संविधान दिवस पालन गऱ्यो। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा कानुन एवं संसदीय मामिला विभाग मन्त्री राजु बस्नेत थिए भने विशिष्ठ अतिथिको रुपमा पूर्व मन्त्री कुङ्गा निमा लेप्चा, विधायक सोनाम भेञ्जोङपा, विधाय तेञ्जिङ लाम्ठा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री राजु बस्नेतले भारतीय संविधानको कारणले नै आज आफू स्वयं पनि यसरी जनप्रतिनिधिकोरूपमा उभिने अवसर प्राप्त गरेको बताए। संविधानले हामी सबैलाई सबै प्रकारको सुरक्षा प्रदान गरेको अवगत गराए। योसँगै संविधानबाट प्राप्त सिक्किमको विशेष सुरक्षाहरूलाई कुनै पनि प्रकारको आँच आउन नदिने अन्तसम्म नै सुरिक्षत राख्ने मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत निर्वाचित सबै विधाकहरूले प्रण गरेको बताए। सिक्किमलाई संविधानबाट प्राप्त अधिकारहरूलाई कुनै प्रकारको चुनौती आए आफूहरू ढाल सरह बनेर खड़ा रहने पनि जानकारी गराए। योसँगै संविधानले अधिकारसँगै आम मानिसहलाई दिएको मौलिक जिम्मेवारी पनि सबै मिलेर पुरा गर्ने पर्ने अत्यावश्यक रहेको बताउँदै सबैले यो दिशामा पनि काम गर्ने आग्रह गरे। यसै क्रममा गान्तोक जिल्ला प्रशासन गान्तोकलेपन ७५औं संविधान दिवस आज पालन गऱ्यो। गान्तोक स्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा अतिरिक्त जिल्लापाल छिरिङ नोर्गयाल थिङ, अतिरिक्त जिल्लापाल मुख्यालय सिसुम वाङचुक भोटिया लगायत अन्य अधिकारीहरको पनि उपस्थिति रहेको थियो। संविधानको अम़ृत महोत्सव अन्तर्गत पालन गरिएको संविधान दिवसको मुख्य उद्देश्य संविधानका मूल मूल्यमान्यतालाई दोहोर्‍याउँदै संविधान निर्माताहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले “हमारा संविधान, हमारा स्वाभिमान” भन्ने ट्यागलाइनका साथ संविधान अमृत मोहत्सव अभियानअन्तर्गत राष्ट्रव्यापी रूपमा मनाइयो। यहाँ उल्लेख गर्न सकिन्छ कि २६ नोभेम्बर १९४९ मा भारतको संविधान सभाले भारतीय इतिहासमा नयाँ युगको सुरुवात गर्दै २६ जनवरी १९५० मा लागू भएको भारतीय संविधानलाई स्वीकार गरेको थियो। यो दिन महत्त्वपूर्ण छ किनकि यसले विश्वको सबैभन्दा लामो लिखित संविधान, भारतको लोकतान्त्रिक ढाँचाको आधारशिलालाई स्वीकार गरेको छ। भारत सरकारले संविधानमा सामूहिक गौरव देखाउन र हाम्रो राष्ट्रलाई परिभाषित गर्ने लोकतान्त्रिक मूल्यहरूप्रति प्रतिबद्धता प्रदर्शन गर्न यस ऐतिहासिक अवसरको एक हिस्सा हुन नागरिकहरूलाई आह्वान गर्दछ। विद्यालयदेखि कार्यालयसम्म, शहरदेखि गाउँसम्म, सिक्किम राज्यभरि लाखौंले प्रस्तावनालाई सामूहिक रूपमा पढ्छन्। सोही प्रकारले सोरेङ जिल्लामा पनि ७५औं संविधान दिवस सामान्यरूपमा पालन गरियो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजना गरिएको संविधान दिवसको अवसरमा जिल्लापाल धिराज सुवेदीले सबै अधिकारीहरूलाई संविधानलाई इमान्दारपूर्वक पालन गर्नको निम्ति शपथ ग्रहण गराए। यस अवसरमा अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, डीएफओ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पनि ७५ संविधान दिवस पालन गरियो। यस अवसरमा अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङले भारतीय संविधानको “प्रस्तावना” पढेर सुनाइन्। उक्त अवसरमा महकुमा अधिकारी शरण कालिकोटे प्रविण गौतम,कार्यालय प्रमुख तथा जिल्ला प्रशासनका विभिन्न कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। संविधान दिवस, हरेक वर्ष नोभेम्बर २६ मा मनाइन्छ, १९४९ मा संविधान सभा द्वारा भारतीय संविधानको ग्रहण र त्यसपछि जनवरी २६, १९५० मा यसको कार्यान्वयन को प्रतीक हो। यो दिन भारतको लोकतान्त्रिक प्रणालीको जग बनाउने मूल्य र सिद्धान्तहरूको अनुस्मारकको रूपमा काम गर्दछ।

About Author

Advertisement