सिलगढी: दार्जीलिङ जिल्ला सीपीआईएमले फेरि एक पटक सिलगढी नगरनिगममाथि भ्रष्टाचारको आरोप लगाउँदै यसको विरोधमा आन्दोलनको आह्वान गरेको छ।सीपीआईएमले यही २९ नोभेम्बरको दिन नगरनिगमको बाहिर धर्ना-प्रदर्शन गर्ने आह्वान गरेको छ। जिल्ला सीपीआईएम संयोजक जीवेश सरकारले मंगलबार पार्टी कार्यालय सिलगढीको अनिल विश्वास भवनमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए। उक्त प्रेस सम्मेलनमा दार्जिलिङ जिल्ला सीपीआईएम सचिव समन पाठक र सिलगढी नगरनिगमका सीपीआईएम पार्षद मुंशी नुरुल इस्लाम पनि उपस्थित थिए।
जीवेश सरकारले पत्रकार सम्मेलनमा भने, “सिलगढी नगरनिगममा पानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। साथै नगरनिगममा विभिन्न क्षेत्रमा भ्रष्टाचार देखिएको छ। जब विरोधीहरूले यी मुद्दाहरू बोर्ड बैठकहरूमा उठाउँछन्, तिनीहरूलाई धम्क्याएर चुप गराइन्छ। एउटा शब्दमा भन्दा, विपक्षको आवाज दबाइँदैछ। त्यसमाथि जलकर, अवैध निर्माण लगायतका धेरै विषयमा भ्रष्टाचार भइरहेको छ। सिलगढी नगरनिगमका मेयर गौतम देवलाई जानकारी गराउँदा पनि उनले कुनै कदम चाल्दैनन्, जसले नगरनिगमको असफलतालाई स्पष्ट पार्छ। त्यसैले, दार्जीलिङ जिल्ला सीपीआईएमले २९ नोभेम्बरमा अनिल विश्वास भवनबाट शुरु हुने विरोध जुलुसको आह्वान गरेको छ। यस जुलुसमा पार्टीको सम्बद्धता नराखी सबै क्षेत्रका मानिसहरूलाई सामेल हुन आग्रह गरिएको छ। यो जुलुस सिलगढी नगरनिगमको बाहिर अन्त्य हुनेछ, जहाँ सार्वजनिक विरोध प्रदर्शन गरी नगरपालिकाको असफलता र भ्रष्टाचारलाई उजागर गरिनेछ।”