खरसाङ: आकाशवाणी सिलगढी र दुरदर्शन जलपाईगुडीका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दासलाई नमस्ते खरसाङद्वारा सम्मान जनाइएको छ। योगेन्द्रराज सुन्दास आगामी ३० नोभेम्बर २०२४ मा आफ्नो कार्यबाट सेवानिवृत्त भईरहेका छन्। आज उनलाई सम्मान जनाउन नमस्ते खरसाङको टोली प्रबन्ध निर्देशक निर्मल गुरुङको अगुवाईमा दुरदर्शन जलपाईगुडी पुगेर बिदाई समारोहमा सहभागी बनेका थिए। यसै अवसरमा नमस्ते खरसाङको तर्फबाट योगेन्द्रराज सुन्दासलाई सम्मान जनाइएको छ। उनलाई नमस्ते खरसाङको तर्फबाट खदार्पणसहित फूल गुच्छा प्रदान गर्दै नेपाली टोपी लगाएर साथै शल ओढाएर अनि सम्मान पत्रद्वारा सम्मान जनाइएको छ। यस अवसरमा उनलाई नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङ र आकाशवाणीको क्लष्टर हेड जितेनकुमार रोयको बाहुलीबाट प्रदान गरिएको छ। उक्त सम्मान कार्यक्रमलाई वरिष्ठ उदघोषक उमेश कार्कीढोलीले सञ्चालन गरेका थिए भने सम्मान पत्र सबिना गिरीले पठन गरेका थिए। यस अवसरमा नमस्ते खरसाङको तर्फबाट भोला रावत र सिल्भेष्टर लेप्चा पनि उपस्थित रहेका थिए। उक्त सम्मानपछि आकाशवाणी सिलगढी र दुरदर्शन जलपाईगुडीका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दासले नमस्ते खरसाङप्रति आभार प्रकट गरेका छन्। योगेन्द्रराज सुन्दास १९९१ मा आकाशवाणी खरसाङमा प्रसारण निष्पादकको रुपमा नियुक्त भएका थिए भने पछिबाट पदोन्नति भएर आकाशवाणी खरसाङमा कार्यक्रम निष्पादक भएका थिए। उनी उडिस्सा, पटना पनि गएर कार्य गरेका थिए भने वर्तमानमा आकाशवाणी सिलगढी र दुरदर्शन जलपाईगुडीका कार्यक्रम प्रमुख पदमा रहेर कार्य गरिरहेका छन्। उनी आगामी ३० नोभेम्बर २०२४ मा अवकाशप्राप्त हुने भएको छ। यस अवसरमा नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले आकाशवाणी सिलगढी र दुरदर्शन जलपाईगुडीका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दासले नमस्ते खरसाङप्रति धेरै गुण लगाएको बताउँदै उनले हामीप्रति लगाएको गुणको लागि हामीले दुरदर्शन जलपाईगुडी पुगेर नै सम्मान जनाइएको बताएका छन्।