जलपाईगढी(पश्चिम बंगाल): बंगलादेशमा इस्कॉनका धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुलाई सोमबार दिउँसो पक्राउ गरिएको छ। मिडिया रिपोर्टका अनुसार, उनीमाथि देशद्रोह र साम्प्रदायिक सद्भाव खलल पुर्याएको आरोप लगाइएको छ। बंगलादेशमा चिन्मय कृष्ण दास ब्रह्मचारीलाई पक्राउ गरिएको खबरले जलपाईगढीका सनातनी समाजलाई निकै चिन्तित बनाएको छ।
बंगलादेशका मिडिया अनुसार, चिन्मय प्रभु ढाकाबाट चटगाउँ जाने क्रममा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। त्यही स्थानमा उनलाई डिटेक्टिभ ब्रान्च (डीबी) पुलिसले पक्राउ गर्यो। घटनास्थलमा उपस्थित इस्कॉनका सदस्यहरूका अनुसार, डीबी पुलिसले कुनै पक्राउ पूर्जी देखाएन। उनीहरूले केवल “हामी कुरा गर्न चाहन्छौं” भनेका थिए र त्यसपछि उनलाई एउटा माइक्रोबसमा राखेर लगे। चिन्मय प्रभुलाई चिन्मय कृष्ण दास ब्रह्मचारीको नामले पनि चिनिन्छ।
जलपाईगढीका सनातनी समाजसँगै कृष्ण भक्तहरूको संस्थाहरू मध्ये एक गौडीय मठका सन्तहरूले यस घटनाको विरोध जनाएका छन्।
बंगलादेशमा बढ्दो साम्प्रदायिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जलपाईगढी गौडीय मठका प्रमुख पुंडरीक दासले भने, “हामी बांग्लादेशको वर्तमान साम्प्रदायिक अवस्थाबाट दुःखी छौं। हामी यस घटनाको कडा विरोध गर्दछौं र भगवान कृष्णले देखाएको मार्गदर्शनलाई पछ्याउँदै, यो कठिन परिस्थितिको विरोधमा एकताबद्ध हुन सबैलाई आह्वान गर्दछौं।”
उनले भने, “आज हामी सबै मिडियामार्फत थाहा पाउँछौं कि बंगलादेशमा लभ जिहाददेखि विशेष गरी सनातनीहरूलाई सरकारी जागिरबाट राजीनामा दिन बाध्य पारिएको छ। हालसालैको घटनामा म इस्कॉन भिक्षु चिन्मय कृष्ण दासको तत्काल रिहाइको माग गर्दछु।”