काेलकाता: केन्द्रिय जाँच ब्यूरो (सीबीआई)- ले सोमवार साँझ तृणमूल कंग्रेस नेता सन्तु गांगुलीलाई स्कूल भर्ती घोटाला मामिलामा पक्राउ गरेको छ।
सन्तु गांगुली पूर्व मन्त्री पार्थ च्यटर्जीका निकटवर्ती मानिन्छ।
सीबीआई अधिकारीहरूले मंगलवार बिहान भने , सन्तु गांगुलीलाई उनको बेहालास्थित आवासबाट जाँचबुझ गरिएपछि हिरासतमा लिएको हो। सीबीआई अनुसार राज्य सरकारद्वारा संचालित प्राथमिक स्कूलहरूमा भएको भर्ती प्रक्रियामा अनियमिततालाई लिएर जाँच भइरहेको थियो जसमा सन्तु गांगुलीको संलग्नताको पुष्टि भएको छ।
सीबीआईका एकजना अधिकारीले भने, ‘हामीसित घोटालाको वित्तीय लेनदेना र त्यमा उनको पनि संलग्नता रहेको प्रमाण छ। पहिला पनि उनको घरमा खानतलासी हुँदा केही ब्यांक सम्बन्धि दस्तावेजहरू जफत गरिएको थियो। जाँचबुझमा सन्तु गांगुलीले सहयोग गरेनन् जसले गर्दा उनलाई हिरासतमा लिन आवश्यक भयो।
यसपूर्व प्रवर्तन निदेशालय (ईडी)- ले गांगुलीसित जाँचबुझ गरेको थियो साथै उनको आवासमा खोजी अभियान संचालन गरिएको थियो। उल्लेखनीय छ, यो मामिला राज्यका पूर्व मन्त्री पार्थ च्यटर्जीसित सम्बन्धित छ, जसलाई ईडीले पक्राउ गरिसकेको छ। यस घोटालासित जोड़िएका अन्य केही आरोपीहरू पनि सीबीआई अनि ईडीको निगरानीमा छन्।