
तिज गोर्खाली अथवा नेपाली संस्कृतिको एउटा अविच्छेद्य अङ्ग हो| गोर्खा जनजीवनमा चलिआएका चाढ-पर्वहरूमध्ये तिज एउटा महत्वपूर्ण पर्व हो जसले समाजमा गोर्खाली नारीहरूको स्थान, माइतीसितको मुटुको सम्बन्ध, नारीको स्वतन्त्रता र आध्यात्मिक ध्यान-धारणा छर्लङ्ग पार्दछ| तिज पर्वले गोर्खा जातिलाई विश्ववासीका छेउमा नारीप्रति संवेदनशील जातिको रूपमा चिह्नाउँदै आएको छ| हिन्दु सनातन धर्ममा विश्वास राख्ने सबै मानिसले सभ्यताको विकासकालदेखि नै नारी शक्तिको सम्मान गरिआएका छन्| यो क्षेत्रमा गोर्खा जातिले सबैभन्दा माथिको स्थान ओगटेको देखिन्छ|
असम नेपाली साहित्य सभा ओदालगुडी शाखा समितिको उद्योगमा प्रकाशित नारी प्रधान पत्रिका ‘तिज’असमेली गोर्खा नारीहरूको साहित्य चेतनाको परिचायक बनेको छ| जातिय पर्वहरू मनाउनु नै एउटा जातिको निम्ति गौरवको कुरो हुनपुगेको समयमा पर्वमै आधारित पुस्तक प्रकाश हुनु त्यो समाजलाई मात्रै नभएर सिङ्गो जातिलाई नै जिउँदो राख्ने प्रयास हो| भाषा र संस्कृति नै एउटा जातिको चिन्हारी हो| चाढ-पर्व मनाउनुको साथै पुस्तक प्रकाश गर्नाले संस्कृतिका साथसाथै भाषा पनि बाँच्दछ| नारी समाजद्वारा यस्तो काम हुनु अति खुशीको कुरो हो र उनीहरू प्रसंशाका पात्र बनेका छन्|
ओदालगुडी नारी समाजको तिज पर्वप्रतिको अनुभव समेटेर प्रकाशन गरेको तिज पत्रिकाको सम्पादन इन्दिरा गौतमले गरेको पाइन्छ भने दुलुमणि देवीलाई सहयोगी सम्पादकको रूपमा रहेको पाइन्छ| भगवान शिव र माता पार्वतीको युगल तस्वीरले आवरण पृष्ठको मध्यभाग र भगवान शिवलाई चढाउने सेता फुलले तल्लो भाग सजाइएको पुस्तकमा आध्यात्मिक चर्चा नै मूल विषय हुनपुगेको आवरण पृष्ठले छर्लङ्ग पारेको छ| ४ अक्टोबर २०२१मा प्रकाशित पत्रिका ‘तिज’को यो तीन नम्बरको अङ्क साहित्यकार स्वर्गीय शान्ति थापाको स्मृतिमा सादर समर्पण गरेको पाइन्छ| साहित्यका तीनवटा विधा – कविता, कथा र निबन्ध समेटेर प्रस्तुत गरिएको छ ‘तिज’ पत्रिका| स्वनामधन्य साहित्यकार, अकाडेमी बिजेता तारापति उपाध्यायज्यूको शुभेच्छा लेख (निबन्ध)ले सिर्जना सूचीको पहिलो स्थान ओगटेको पत्रिकामा मोठ ४३वटा रचना समावेश भएको पाइन्छ| तारापति उपाध्याय जस्ता मूर्धन्य व्यक्तिको आशीर्वाद भेटेको पत्रिका ‘तिज’ साँचो अर्थमा भाग्यशाली छ र आगामी दिनहरूमा यसले विश्वकै नेपाली साहित्यको जगेडा गर्न सक्षम हुने छ भनी आशा गर्न सकिन्छ| उहाँको नारीजाति प्रतिको सद्भावले नै ओदालगढीका जातिप्रेमी र साहित्यानुरागी नारीहरूलाई उहाँको नजिक पुर्याएको हो। उपाध्यायज्यूको निबन्धले पुस्तकको गरिमा धेरै बढाएको छ|
नारीहरू कतै पीडित छन्, कतै स्वतन्त्र छन्| कतै नारीको प्रतिवादी कण्ठको टड्कालो आवाज निस्किएको छ भने कतै मानवीय अनुभूतिले परिपूर्ण मानिसको रूपमा उभिएका छन् नारी
पत्रिकामा समावेश भएको अर्को एउटा वरिष्ठ लेख हो डा: इन्दु प्रभा देवीको ‘नारी सशक्तिकरण’ शीर्षक निबन्ध। आफ्नो लेखमा डा: देवीले एउटा परिवारमा नारीको महत्व, नारी शिक्षाको आवश्यकता, नारी सशक्तिकरणको नाममा चलिआएका विपरीत कार्यकलाप आदिबारे विस्तृत वाख्या गर्नुका साथै नारीमुक्ति आन्दोलनको साहित्यमा प्रवेश र नारीहरूको सुरक्षाको निम्ति बनिएका ऐनहरूबारे स्पष्ट जानकारी दिइएको पाइन्छ| विभिन्न समय र विभिन्न देश र समाजमा चलिआएका कुप्रथा निर्मूल पार्ने क्षेत्रमा रहेको नारीको भूमिकाबारे उदाहरणका साथ उल्लेख गरेको पाइन्छ इन्दुप्रभाको निबन्धमा| नारीभित्र विद्यमानभएको शक्तिको सदुपयोग होस् भन्ने चाहना राख्दै उनी भन्छिन् – ‘जिन्दगीको सबैभन्दा ठुलो कुरा हो आफूलाई चिन्नु| नारीले आफूलाई चिन्नु हो भने र आफ्ना अधिकार र कर्तव्यप्रति जागरूक हुनु हो भने घर घर त के समाज शृङ्खलित हुने थियो, देश सुन्दर मात्र होइन सवल हुने थियो|’ इन्दुप्रभा देवीको वरिष्ठ लेखले तिज पत्रिकाको गरिमा बढाएको मात्रै छैन नारीप्रधान पत्रिका हुनुको जिम्मेवारी निभाउन पूर्ण सहयोग पुर्याएको छ|
‘तिज’ पत्रिकामा गाभिएको अर्को एउटा लेखले भारतीय हिन्दु सनातन धर्ममा विश्वासी गोर्खा जातिले नारीहरूलाई दिएको मान र स्वतन्त्रताको आदर गर्दै तिज पर्वको व्याख्या अघिसारेको पाइन्छ| यो लेख हो वरिष्ठ सङ्गठक, निबन्धकार, अनुवादक कल्पना देवी आत्रेयको। उनी हाम्रो संस्कृतिप्रति सजग रही संस्कृति सुरक्षा गर्ने विषयको पुष्टि गर्दछिन्| त्यसैगरी तारा खड्काले आफ्नो लेखमा तिज पर्वले समाज एकत्रीकरणमा अहम भूमिका निभाएको छ भनी व्यक्त गरेको पाइन्छ भने पद्मावती देवी ढुङ्गानाको लेखमा तिजको आध्यात्मिक पक्षको यथार्थ वाख्या पाइन्छ| तिजलाई विकृत नपारी नियम-नीति र विधिपूर्वक मनाउन नारी समाजलाई आह्वान गरेकी छन् लेखिकाले| पुस्तकमा कृष्णा देवी र अञ्जु देवीका निबन्ध पनि तिज पर्वलाई महत्व दिएर लेखिएका छन्| अञ्जु देवीले तिजको नीति नियम र तिज पर्व मनाउने पक्षमा आदिदेखि चलिआएको कथाको वर्णन गरेकी छन्। कृष्णा देवी गाउँ, घर र नदीको तटबाट आरम्भ गरेको लामो यात्रापछि मञ्चमा चढेको तिजको नारीहरूको प्रतिभा विकासको क्षेत्रमा ठुलो भूमिका छ भन्ने विचार पोख्दछिन्| पत्रिकामा तिज पर्वमै आधारित नभएर नारीहरूलाई विषय बनाएर लेखिएका निबन्ध पनि गाभिएका छन्| तुलसी कार्कीको ‘नारी अस्मिता ‘, दुलुमणि उपाध्यायको ‘हामी नारीहरू समाजमा आज पनि किन पछि छौं?’ अनि गीता देवी उपाध्यायको ‘हाम्रो संस्कृति र छोरी चेली’| उनीहरूका लेखमा नारी सम्मानका पात्र, पुजिता देखिनका साथै सशक्त पनि देखिएका छन् अथवा सशक्तिकरणको दैलो घचघचाउन पुगेका भएका छन्| तुलसी कार्की लैङ्गिक समानता नारीहरूको कर्म गर्ने दैहिक र मानसिक प्रस्तुतिबाट आरम्भ होस् भन्ने विचार राख्छिन्| दुलुमणि देवी नारीबाट हुँदैआएको नारीको शोषण र उत्पीडन निर्मूल पार्ने विषयमा अडिग छिन्|
पत्रिकामा दसवटा कथा समावेश भएका छन्| इन्दिरा गौतमको ‘आमा’ कथाले आरम्भ भएको कथा स्तम्भमा कल्पना देवी, मनीषा दाहाल, रुक्मिणी शर्मा, रेणुका सापकोटा, हिरनमयी आचार्य शर्मा ,पद्मा देवी उपाध्याय’सृष्टि’, रश्मिरेखा शर्मा (धमाला), इन्दिरा खड्का छेत्री, भारती देवी आदि नारी कथाकारहरूका कथा गाभिएका छन्| कथा छोटा छन्| धेरैजसो कथामा नारी अस्मिताले प्रकाश पाएको छ भने अरू कतिपय कथा तिज पर्वमै आधारित भएको पाइन्छ| नारीहरू कतै पीडित छन्, कतै स्वतन्त्र छन्| कतै नारीको प्रतिवादी कण्ठको टड्कालो आवाज निस्किएको छ भने कतै मानवीय अनुभूतिले परिपूर्ण मानिसको रूपमा उभिएका छन् नारी| एकेक कथा रोचक छन्| पुरुष पात्र कम्ती नै छन् र पनि दाजु-भाइ र बाबु सम्बन्धमा बाँधिएका पुरुष चरित्र छन्| धेरैजसो पुरुष पात्र नै तिज पर्व, नारी र माइतीका बिचको त्रिकोणी सम्बन्धले जन्माएका छन्|
यसैगरी यस पत्रिकामा २१ वटा कविता र एउटा गीत समावेश गरिएको छ| सरल भाषामा लेखिएका छन् कविताहरू| तिज पर्व र नारी जीवनको कथा-व्यथा समेटेर लेखिएका कविता नै अधिक पाइन्छन्| नारी जातिलाई भिन्न भिन्न दृष्टिकोणले सशक्तरूपमा प्रस्तुत गरिएको पाइन्छ भने आमा शीर्षक भएका कवितामा पनि नारीहरू सवला नै देखाइएको छ। काव्यिकताको दृष्टिले हेर्दा कविताहरू सामान्य छन्| तर पत्रिकाको स्तरीयतालाई आत्मसात गरेकाछन् कविताले| भाषा साहित्य संस्कृतिको मात्रै नभएर आर्थिक क्षेत्रको पनि उन्नतिप्रति समानै सजग छन् ओदालगुडीका नारीहरू| त्यसैले त पत्रिकामा व्यवसाय प्रतिष्ठानको विज्ञापन दिन भुलेको छैनन् सम्पादन समिति।
आध्यात्मिक ध्यान धारणा समृद्ध ‘तिज’ पत्रिकामा अघिल्लो साल(अ. २०२० सन्)मा मनाइएको तिज पर्वका तस्वीरहरू समावेश गरिएको छ| आवरण पृष्ठको पछिल्लो भागमा भएका तस्वीरहरू ओदालगढीको नारी समाजको पर्व पालनको उत्तास झल्काउन पर्याप्त भएको देखिन्छ| नारी विचारप्रधान पत्रिका भएको हुनाले यसमा नारीहरूका मात्रै लेख समेटिएको हुनसक्छ| तिज पर्वसँग सङ्गति राखेर प्रकाशन गरिएकाले होला नारी, तिज अनि माइती सम्बन्धी सिर्जना धेरै मात्रामा गाभिएका छन्। तर एउटा पत्रिकाले समाजमा घट्दै आएका अथवा घट्नलागेका साथै अहिलेसम्म ओझेलमा परेका धेरैभन्दा धेरै सङ्गत अथवा विसङ्त विषयहरू चर्चामा ल्याउने सक्षमता राखेको हुन्छ र त्यसबारे सर्जकहरू ज्ञात हुन आवश्यक देखिन्छ| विविध विषयका नारी प्रतिभाबारे खोज अथवा अध्ययन गरी पुस्तकमा समावेश गरेमा नयाँ पिँढीले प्रेरणा पाउने छन्| सम्पादन समितिले नारीको सर्वाङ्गीन उन्नतिमा गुरुत्व दिएर विषयहरू तोकिदिनु भएमा नयाँ सर्जकहरूले पनि आफ्नो सिर्जनामा समसामयिक समाजलाई प्रतिफलित गराउन समर्थ हुन्छन्| शिक्षा र विज्ञान नै हुन मानिसलाई सथ्यताको सिँढी चढाउने साधन| त्यसैले यी विषयलाई साथमा लिएर कृष्टि-संस्कृति अथवा चाढ-पर्वको जगेडा गरे मात्रै नारीको सर्वाङ्गीन विकासका साथसाथै समाज, देश हुँदै विश्व सम्प्रदायको उन्नति सम्भव हुन्छ। पुर्खेली रीति- रिवाजलाई विज्ञानको दृष्टिले राम्रो अध्ययन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ| त्यसो गर्दा नयाँ पिँढी अथवा भविष्य प्रजन्मले हाम्रो संस्कृतिको जगेडा गर्नु उचित देख्ने छन्| तिज पत्रिकाले नारीहरूको सबै प्रकारको उन्नतिमा ध्यान दिएर अघि बढ्ने छ भन्ने आशा राख्दै यो नारी प्रधान पत्रिकाको गरिमा विश्वभरि नै फैलिओस् त्यही कामना गर्दछु|