एशिया कपः पाकिस्तान विरुद्ध ५ विकेटले विजयी भारत

२९ अगस्तः लगभग १० महिना अघि २४ अक्टोबर २०२१-मा वर्ल्ड कपको इतिहासमा भारतीय टीम पहिलोपल्ट पाकिस्तान विरुद्ध पराजित भएको थियो। आइतवार राति भारतले त्यस हारको हिसाब चुक्ता गऱ्यो। एशिया कपको ग्रुप ए-को रोमाञ्चक म्याचमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गऱ्यो। टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानको टीम १९.५ ओभरमा १४७ रन बनाएर अलआउट भयो। जवाफमा भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर १४८ रनको लक्ष्यलाई हासिल गऱ्यो।

भारतको यस जीतमा अलराउण्डर हार्दिक पाण्ड्या हीरो रहे। उनले पहिला बलको साथ असल प्रदर्शन गर्दै ३ महत्त्वपूर्ण विकेट लिए। त्यसपछि ब्याटको साथ पनि १७ बलमा अविजित ३३ रन बनाए। उनलाई प्लेयर अव् द म्याच चयन गरियो। मोहम्मद नवाजको बलमा हार्दिकले नै विजयी छक्का लगाए। टीम इण्डियालाई अन्तिम ओभरमा जीतको निम्ति ७ रन चाहिएको थियो। रविन्द्र जडेजा पहिलो बलमै बोल्ड भए। त्यसपछि दोस्रो बलमा दिनेश कार्तिकले एक रन लिएर स्ट्राईक हार्दिकलाई दिए। हार्दिकले पनि छक्का लगाएर टीमलाई जीत दिलाए। लक्ष्यलाई खेदो गर्दै भारतको तर्फबाट विराट कोहली र रविन्द्र जडेजाले ३५-३५ रन बनाए। कोहलीले ३४ बल खेलेर ३ वटा चौका र एउटा छक्का लगाए। यसरी नै जडेजाले २९ बल खेलेर २ वटा छक्का र २ वटा चौका लगाए। यसबाहेक सूर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए। केएल राहुल खाता नखोली पहिलो ओभरमै आउट भए। पाकिस्तानका बलरहरूमा मोहम्मद नवाजले ३ अनि नसीम शाहले २ विकेट हासिल गरे।

यसअघि दुबई इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्ने पाकिस्तानको तर्फबाट ओपनर मोहम्मद रिजवानले ४२ बलमा ४ वटा चौका र एउटा छक्काको सहायताले सर्वाधिक ४३ रन बनाए। भारतीय पेस बलरहरूले म्याचमा शर्ट बलिंगको सही तरिकाले उपयोग गर्दै लगातार विकेट हासिल गरे। पाकिस्तानका कप्तान बाबर आजम केवल १० रन बनाएर आउट भए। यसबाहेक फखर जमानले १०, इफ्तखार अहमदले २८, खुशदील शाहले २, अलराउण्डर शादाब खानले १० अनि आसिफ अलीले ९ रन बनाए। हार्दिकले रिजवान, इफ्तखार र खुशदीलको महत्त्वपूर्ण विकेट लिए। पाकिस्तानको तल्लो क्रमलाई भुवनेश्वर कुमारले समेटे। भुवनेश्वरले सर्वाधिक ४ विकेट हासिल गरे। यसबाहेक हार्दिकले ३, अर्शदीप सिंहले २ अनि अवेश खानले १ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement