खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरामा अवस्थित अत्यन्तै पौराणिक तीनकन्या देवी मन्दिरको जीर्णोद्धार गर्न आज भूमिपूजा गरियो। स्थानीय राजु प्रधानको बाहुलीबाट विविध पूजा-अर्चना गरेर निर्माण कार्यको शुरूआत गरियो। यस अवधि यहाँ एक कार्यक्रमको आयोजना गरियो। शिक्षक शरद घिसिङले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय सभासद कल्पना प्रधान विशेष रूपले उपस्थित थिइन् भने सैनिकपुरीबाट पनि सहयोगी सदस्यहरू उपस्थित थिए। कार्यक्रमबारे जानकारी गराउँदै राजु प्रधानले आज सबैको सहयोगले नै यस मन्दिरको जीर्णोद्धार गर्न लागिएको जनाए। तिनले मन्दिरको तल्लो भाग पैह्रो गएर मन्दिरलाई धेरै क्षति गरिरहेको जनाउँदै अब भने यस पैह्रोलाई रोकथाम गरिने जनाउँदै सबैलाई थप सहयोग गरिदिने आग्रह गरे। सभासद कल्पना प्रधानले आफ्नो अनि जीटीएको पक्षबाट मन्दिर निर्माणको निम्ति सहयोग गर्ने वचन दिइन्। तिनले आस्थाको केन्द्रविन्दु यस देवी मन्दिरको सबैले मिलेर संरक्षण र सम्वर्द्धन गर्नुपर्ने आवश्यकतामाथि जोड दिइन्। यस अवधि स्थानीय एक विद्यार्थी ऋतुराज प्रधान, जसले श्री सत्य साई इन्स्टिट्यूटअफ हायर लर्निङ सेन्टरबाट गोल्ड मेडल प्राप्त गरे वापत उनलाई विशेष सम्बर्द्धना जनाइयो। त्यसरीनै कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तिहरूलाई पनि कार्यक्रममा सम्मान जनाइयो। यस कार्यक्रमलाई अन्य वक्ताहरूले पनि सम्बोधन गर्दै मन्दिरको गरिमा अनि यहाँको सत्यताको कारण मन्दिरलाई अझ सुन्दर र भव्य बनाउन साथै यसलाई सदैव बचाएर राख्न सबैले सहयोग गर्नुपर्ने मत राखे।