भरतपुर: चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आरम्भ पोखरेलको आज बिहान ५ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।
शनिबार कालिका-४ स्थित चित्रवन स्कुलको मधेश प्रदेश ०३-०११ क २६७७ नम्बरको बस पिकनिक खाएर फर्किँदै गर्दा अपरान्ह कालिका-९ मा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८ जना घाइते भएका थिए भने दुई जनाको अवस्था गम्भीर थियो। घाइते मध्ये छ जनाको अझै उपचार भइरहेको छ भने अन्य घाइतेहरु डिस्चार्जपछि घर फर्किएका छन्।
स्कुलको आफ्नै बसमा चालकसहित ३२ जना सवार थिए। उपदङ्गगढीबाट पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेलपछि चालकले भिरालो बाटोको भित्तामा ठोकाएर धेरैको ज्यान जोगाएका थिए।