विराटनगर: सप्तकोशी तिर्थयात्रा प्रा.लि. विराटनगरले काठमाण्डुको टोलिलाई भारतका धार्मिकस्थल दर्शन गराएर फर्कँदा बिहारमा पुलिसले लुटपाटकै शैलीमा पैसा लिएपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ। चार दिन अगाडी नोबेम्बर २१ तारिखमा भारतको अयोध्या दर्शन गरेर बिहार र यूपीको बोर्डर गोपालगञ्जमा आइपुगेको टोलिसँग २० हजार रुपैँया असुलिएको थियो। बिहार पुलिसले इन्ट्रिशुल्क भन्दै सुरुमा पाँच हजार लिएको र गाडी लिएर अगाडी बढ्न खोज्दा पुनः रोकेर १५ हजार खोसेर लगेको सप्तकोशी तिर्थयात्रा प्रा.लि.का सञ्चालक नरेशकुमार लाभले जानकारी दिएका छन्।
यस अगाडी उत्तर प्रहरीको ट्राफिक प्रहरीले बारम्बार दुःख दिने गरेपछि त्यहाँका उच्चपदस्थ पुलिस अधिकारीसम्म उनले रिपोर्ट लेखाएको बताए। त्यसपछि यूपिमा केहि राहत भएपनि बिहारमा अहिले प्रहरीले नेपालीमाथि लुट मच्चाईरहेको उनको गुनासो छ। लाभले भारतीय दूतावासबाट बा ४ क १९२४ नम्बरको मिनी बससहित तिर्थयात्रा पर्मिट लिएका थिए। उनले एल इण्डिया घुम्न पाउने अनुमति लिएर जाँदा पनि टोलटोलमा पैसा असुलेर हैरान पार्ने गरेको बताए। भारतको तिर्थयात्रा घुम्न जाँदा सुत्न सस्तो हुने भएपनि लुटिँदा चाँहि महंगो हुने उनको गुनासो छ। नेपाली गाडी लिएर भारत जाँदा सधैं नै दुःख दिने गरेको उनले बताए। भारतीय गाडी लिएर जाँदा गाडीकै मान्छेहरुले सामान चोरी दिने गरेर हैरान पार्ने गरेको उनको अनुभव छ।
एक महिनाका लागि ६ हजार ५०० बुझाएर लिएको पर्मिटका आधारमा १३ दिनपछि तिर्थयात्रीको टोलि फर्केको थियो। लाभले आफ्नो सवारीसहित खाना र बस्नको सुविधा दिएर तिर्थयात्रामा लैजादै आएका छन्। बस्ने सहजीकरण उनले गरेपनि पैसा सम्बन्धित व्यक्तिले बुझाउनु पर्ने हुन्छ। तर, खाना भने कम्पनीले नै खुवाउने गरेको छ। गाडीमै खाना पकाउने सामाग्री र खाद्य सामाग्रीको जोहो गर्ने गरिएको छ। लाभका अनुसार २१ हजार रुपैँयाको प्याकेजमा भारतको गया, काशी, बनारस, प्रयागराज, नेबीसारानिय, आग्रा, मथुरा, बृद्धाबन, हरिद्वार, ऋषिकेश, अयोध्यासम्म दर्शन गराउने गरिएको छ।