विराटनगर: मोरंगको विराटनगरमा सोमबार बिहानको राति कार दुर्घटना भएको छ। कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-४ पिपल चोकनजिकै प्रदेश १–०२–०२९ च २२२१ नम्बरको कार दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कार आफैं अनियन्त्रित भएर सडकको डीभाईडरमा ठोक्किँदा चालकसहित ४ जना घाइते भएका छन्। दुर्घटनामा चालक विराटनगर-६ का २६ वर्षीय रियाज आलम, २४ वर्षीय दिलसाद हुसेन, २५ वर्षीय अब्दुल रहिम र २७ वर्षीय मोहमद अबुजर घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ। उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। कारको तीव्र गतिका कारण दुर्घटना भएको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।