अष्ट्रेलियाविरुद्ध पहिलो टेस्ट म्याचमा भारत २९५ रनले विजयी

IMG-20241125-WA0205

पर्थ: बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याचमा भारतले अष्ट्रेलियालाई चौथो दिन नै २९५ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै भारतले ५ वटा टेस्ट म्याचको सीरीजमा १-०-को महत्त्वपूर्ण बढ़त हासिल गऱ्यो। कप्तान जसप्रीत बुमराहको प्रेरणादायी प्रदर्शनको साथमा यशस्वी जयसवाल र विराट कोहलीको शतकीय ईनिंग्सको सहायताले भारतले पर्थमा अष्ट्रेलियाको चुनौतीलाई सजिलै पार गऱ्यो। अप्टस स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्ने भारतको पहिलो ईनिंग्स केवल १५० रनमा समाप्त भएको थियो। त्यसपछि कप्तान बुमराहको अगुवाईमा भारतीय पेस बलरहरूले विध्वंशी बलिंग गर्दै अष्ट्रेलियाको पहिलो ईनिंग्स केवल १०४ रनमा समेटेको थियो। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा ४६ रनको बढ़त हासिल भएको थियो। पहिलो ईनिंग्सको निराशाजनक प्रदर्शनलाई भुलेर भारतीय ब्याटरहरूले दोस्रो ईनिंग्समा असल प्रदर्शन गरे। यसमा यशस्वीले १६१ र कोहलीले अविजित १०० रन बनाए। यसैको फलस्वरूप भारतले ६ विकेटमा ४८७ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा अष्ट्रेलियालाई म्याच जित्न ५३४ रनको लक्ष्य हासिल भएको थियो।
विशाल लक्ष्यलाई खेदो गर्दै कंगारु टीमले आइतवार म्याचको तेस्रो दिन नै १२ रनमा ३ विकेट गुमाएको थियो। यसरी म्याचमा भारतको जीत आइतवार नै तय लागेको थियो। त्यसपछि सोमवार म्याचको चौथो दिन अष्ट्रेलियाले सामान्य संघर्ष गरे पनि म्याच बचाउन सकेन। आज अष्ट्रेलियाको दोस्रो ईनिंग्स २३८ रनमा समाप्त भयो। तेस्रो दिन अविजित रहने उस्मान ख्वाजा (४ रन) आज दिनको शुरुमै मोहम्मद सिराजको शिकार बने। यसरी केवल १७ रनमा ४ विकेट गुमाएपछि अष्ट्रेलियाको निम्ति ट्रेविस हेडले लड़ाइँ जारी राखे। हेडले स्टीव स्मिथ (१७ रन)-सँग पाँँचौं विकेटको निम्ति ६२ रन अनि मिचेल मार्शसँग छैटौं विकेटको निम्ति ८२ रनको पार्टनरशीप गरे। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा हेडले सर्वाधिक ८९ रन बनाए। उनले १०१ बल खेलेर ८ वटा चौका लगाए। यसरी मार्शले ३ वटा चौका र २ वटा छक्काको साथ ४७ रन बनाए। बुमराहले हेडलाई आउट गरी मार्शसँगको पार्टनरशीप तोड़े। हेड र मार्श आउट भएपछि एलेक्स केरीले ३६ रन बनाएर केही बेर लड़ाइँ गरे तर स्पिनर वाशिंगटन सुन्दरले अष्ट्रेलियाको तल्लो क्रमलाई तहसनहस पारेर भारतलाई जीत दिलाए। भारतीय बलरहरूमा बुमराह र सिराजले ३-३ विकेट लिए। सुन्दरले २ विकेट हासिल गरे। यसरी आफ्नो पहिलो टेस्ट खेलिरहेका हर्षित राणा र नितीश रेड्डीले १-१ विकेट पाए। पहिलो ईनिंग्समा ५ सहित म्याचमा जम्मा ८ विकेट लिनेे बुमराहलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement