सुपर कप २०२२: चाराली स्पोर्टिंग क्लब च्याम्पियन

२९ अगस्त: बीरपाड़ा बादाहाउदा देविसिमुल सर्व समाजको तत्त्वावधानमा आयोजित सुपर कप २०२२ फूटबल टुर्नामेण्टको सीजन २-मा चाराली स्पोर्टिंग क्लब (झापा, नेपाल) च्याम्पियन भयो। बीरपाड़ा फरेष्ट (जारिप) मैदानमा सम्पन्न यस नाइन ए साइड टुर्नामेण्टमा आइतवार भएको फाइनलमा चाराली स्पोर्टिंग क्लबले एसएस ११ बुन्दापानीलाई ४-१-ले पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक भयो अनि एसएस ११ बुन्दापानीको टीमलाई भाग्यले पनि साथ दिएन। एसएस ११ बुन्दापानीको टीमले दुईवटा पेनल्टी गुमायो। यसबाहेक टीमले केही नजिकको मौकाहरू पनि काममा लगाउन सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा विजेता टीम चाराली स्पोर्टिंग क्लबका हीरा राजवंशीले प्लेयर अव् द म्याच र सर्वाधिक गोलदाताको पुरस्कार जिते। यसरी नै त्यही टीमका समीर लिम्बुले सर्वश्रेष्ठ गोलकीपर र प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। फाइनलमा मुख्य अतिथिको रूपमा समाजसेवी सञ्जय लामा, जुगेश राई, सुभाष मुखिया अनि मनोज तिग्गा (एमएलए, मदारीहाट कन्स्टीट्यूएन्सी) उपस्थित थिए। यसरी नै चिन्हारी एकाडमीको पाइप ब्याण्ड मुख्य आकर्षण रह्यो। फाइनल म्याचअघि खेलिएको भेटरन प्रदर्शनी म्याचमा ग्रीनल्याण्ड्स भेटरनले बीरपाड़ा भेटरनलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement