नाम्बुमा संस्कृति संस्कार केन्द्रको उदघाटन

IMG-20241124-WA0204

गान्तोक: विद्या भारती सिक्किमअन्तर्गत विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समितिले पहाडी राज्यको आदिवासी र सीमान्त क्षेत्रहरुमा शिशु मन्दिर र “सरस्वती संस्कार केन्द्र” को प्रचार र सञ्चालन गर्ने प्रयासलाई सक्रियता दिएको छ। दुर्गम गाउँमा विद्यालय सञ्चालन गर्न गाह्रो हुने विषयमाथि ध्यान राख्दै राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्ष र विद्या भारती सिक्किमको रजत जयन्ती वर्षको अवसरमा कार्ययोजनाअनुसार कार्य विस्तार गरेको छ। यसअन्तर्गत २३ नोभेम्बरमा, पश्चिम सिक्किमको गेजिङ ग्राम विकासअन्तर्गत नाम्बुमा अर्को सरस्वती संस्कार केन्द्रको उद्घाटन गरियो। प्रमुख अतिथिका रुपमा रहेका वार्ड पार्षद पासाङ भोटियाले भारत माताको तस्बीर अगाडि दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए। स्वागत तथा अतिथिको परिचय विद्या भारती सिक्किमकी कार्यकारी सदस्य तथा संस्कार केन्द्र योजना प्रमुख कृष्ण कुमारी सुब्बाले राखेका थिइन्। यस उद्घाटन कार्यक्रममा विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले विद्या भारतीको परिचय, यसको कार्य योजना, उद्देश्य, केन्द्रको सांस्कृतिक गतिविधिहरूबारे जानकारी गराएका थिए। स्थानीय समाजसेवी भक्तकुमार लिम्बूको निवासमा यो संस्कार केन्द्र सञ्चालन हुनेछ। अन्य अतिथिहरूमा पूर्व पञ्चायत सदस्य, पूर्व सरकारी शिक्षक, पूर्व समाज अध्यक्ष र आमाहरू थिए। प्रमुख अतिथिले यस क्षेत्रमा यो महान् राष्ट्रिय कार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिए। केन्द्र सञ्चालनका लागि ७ सदस्यीय समिति पनि गठन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement