प्रथम पाँच दिवसीय नर्थ इस्ट एनएसएस फेस्टिभल शुरू

गान्तोक: प्रथम पाँच दिवसीय नर्थ इस्ट एनएसएस फेस्टिभल शुरू भएको छ। आज मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उक्त उत्सव शुरू भएको घोषणा गरेका छन्। कार्यक्रमको आयोजना खेल विभागको एनएसएस सेल र भारत सरकारको खेल एवं युवा मामिला मन्त्रालयले गरेको हो।

२७ अगस्तदेखि शुरू भएर आगामी ३१ अगस्तसम्म चल्ने यो उत्सवमा सिक्किमसहित पूर्वोत्तर राज्यहरूबाट ३०० भन्दा धेर एनएसएस स्वयंसेवक र लगभग ५० कार्यक्रम अधिकारीले भाग लिइरहेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद सुब्बाले पूर्वोत्तर भारत सांस्कृतिक रूपमा विविधताले परिपूर्ण क्षेत्र रहेको बताए। तिनले नर्थ इस्ट एनएसएस फेस्टिभलले पूर्वोत्तर क्षेत्रका विविध परम्परा र संस्कृतिहरूको आदान प्रदानका लागि एउटा मञ्चको रूपमा काम गर्नेछ भनी बताए। उनले देशको शान्ति अनि सद्भावलाई कायम राख्दै सबैलाई बिकासका लागि मिलेर काम गर्न आह्वान गरे। उनले उत्सवमा एकत्रित सबै राज्यका सहभागीहरूमा शुभकामना व्यक्त गर्दै यस अवसरको भरपूर फाइदा उठाउन आह्वान पनि गरे।

कार्यक्रमलाई एनएसएस नर्थ इस्ट रिजनका क्षेत्रीय निदेशक दिपक कुमार, खेल विभागका सचिव कर्मा आर. बोन्पोले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement