मंगनमा ५६ वर्षीय शिक्षकको हत्या, घरकै आँगनमै भेटियो शव

IMG-20241123-WA0232

गान्तोक: उत्तर सिक्किमको मंगनमा एकजना ५६ वर्षीय व्यक्तिको कथित रुपमा हत्या गरिएको घट्ना प्रकाशमा आएको छ। अप्पर सिङ्गिक निवासी मृतक पासङ टिङ्कु लेप्चा मंगन वरिष्ठ माध्यामिक विद्यालयको शिक्षक रहेको थाहा लागेको छ। घट्नाक्रमअनुसार हाल गान्तोकमा रहँदै आएका मृतकका छोरा हेन्द्री लेप्चाको गत १९ नोभेम्बरदेखि आफ्नो पितासँग सम्पर्क हुनसकिरहेको थिएन। अनेकौंपल्ट कल गर्दा पनि बाबुले उनको कल उठाएनन्। वरपरका आफन्तहरूलाई भनेर घरमा हेर्न लगाउँदा बाबुलाई नभेटिएको र सम्पर्क पनि गर्न नसकिएको आफन्तहरूले बताएपछि हेन्द्री बाबुलाई भेट्न भनि हिजो अप्पर सिङ्गिकको पैतृक घर पुगेका थिए। तर, घरमा पनि उनले बाबुलाई भेटेनन्। घर सुनसान थियो। अचानक उनको आँखा आगनमा केही चिजमा पर्छ र टक्क अडिन्छ। त्यो चिज माटोमा गाँड़ेको मानव शरीरको खुट्टाको औँला हुन्छ। त्यो दृश्य देखेर कुनै अप्रिय घट्नाको आशङ्काले उनलाई विचल्लित बनाउँछ। हताहतार हेन्द्रीले मंगन पुलिस थानालाई घट्नाबारे जानकारी गराउँछन्।
घट्नाको सूचना पाएपछि मंगन थानाबाट जाँच अधिकारी एसआइ सुमन पोख्रेल पुलिस दलको साथमा घट्नास्थलमा पुगेर शवलाई खनेर बाहिर निकाल्यो। शव पासङ टिङ्कु लेप्चाको थियो जसलाई उनको छोरा हेन्द्री लेप्चाले चिन्हित गरेको छ।
पूलिस सूत्रकाअनुसार पासङ टिङ्कु लेप्चाको शरीरभरि नै कुनै धारिलो हतियारले अनेकौंपल्ट प्रहार गरिएको छ। अधिक चोटको कारण अनुहार चिन्न नसकिने भएको छ भने अण्डकोष पनि काटेर बाहिर निकालिएको छ। यसरीनै छाति, ढाँड़ र शरीरका अन्य भागमा पनि अनेकौं चोट रहेको छ। पछि पुलिसले घट्नास्थलको गहन जाँच गर्दा मृतकको घरको कोठामा खुनका छिट्टाहरू पाइएको पनि सूत्रले बताएको छ। प्राप्त जानकारीअनुसार मृतक घरमा एक्लै बस्ने गर्थे।

पुलिसले यस घट्नासम्बन्घमा बीएनएस-को धारा १०३ र २३८ अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरु गरेको छ भने यो समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरेको थाहा लागेको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement