गान्तोक: राजधानी गान्तोकमा शनिवार श्री सत्य साई बाबाको ९९औँ जन्म जयन्ती भव्यतापूर्वक पालन गरियो। श्री सत्य साई सेवा संगठन सिक्किमको तत्त्वावधानमा आयोजित समारोह नगर संकिर्तनबाट आरम्भ भएको थियो।
राज्यका विभिन्न स्थानका समितिबाट सैकडौँ साईभक्तहरूको उपस्थितिमा बिहान ९ बजी एमजी मार्गबाट बालुवाखानीस्थित सर्वधर्म केन्द्रसम्म वेद मन्त्रोच्चारण अनि भजनका साथमा नगर संकिर्तन सम्पन्न भयो। दिउँसो सर्वधर्म केन्द्रमा केक काटेर श्री सत्य साईको जन्मोत्सव पालन गरियो। जन्मोत्सवमा श्री सत्य साई सेवा संगठन सिक्किमका अध्यक्ष पुनम प्रधानले सम्बोधन गरेका थिए। उनले आगामी वर्ष सत्य साईको जन्म शतवार्षिकी विश्वभरि नै भव्यतापूर्वक हुने बताउँदै सिक्किमले अहिलेदेखि नै तयारी गरिरहेको जानकारी गराए। उनले श्री सत्य साईका सन्देशहरूलाई आजको समाजले अक्षरश ग्रहण गर्न आवश्यक रहेको उल्लेख गर्दै उपस्थित साई अनुयायीहरूप्रति कृतज्ञता प्रकट गरे। श्री सत्य साई सशरीर रहँदा विश्वमा साई समितिका गतिविधिहरू जुन प्रकारले हुने गर्दथे, वर्तमानमा त्योभन्दा दोब्बर बढी हुने गरेको बताए। समारोहमा साईभक्तहरूद्वारा १०८ अष्टोत्तर सतनामावलीका साथै गान्तोक वरपरका समितिहरूद्वारा भजन एवम् भक्ति सङ्गीत प्रस्तुत गरिएको थियो। संगठनका उपाध्यक्ष रोशन प्रधानद्वारा स्वागत सम्बोधन राखिएको यस कार्यक्रममा कलाकारहरूद्वारा स्वागत गान प्रस्तुत गरिएको थियो।