गान्तोक: ७१औं देशव्यापी सहकारी सप्ताह उत्सवको आज समापन भयो। सहकारी विभाग अनि सिकुनको संयुक्त तत्वावधानमा नाम्चेबुङ निर्वाचन क्षेत्रअन्तर्गत आसमलिङजेमा अवस्थित सिकुनको प्रेक्षगृहमा आयोजित समापन कार्यक्रममा सहकारी विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथिको रुपमा उपस्थित थिए भने सिकुनका अध्यक्ष डा. मंगलजीत राई र सहकारी विेभागका सचिव ग्लोरीया नाम्चो विशिष्ठ अतिथिकोरुपमा उपस्थित थिए। कार्यक्रममा सहकारी विभागका अधिकारीहरूले राज्यपाल अनि मुख्यमन्त्रीको सन्देश पढ़ेर सुनाए भने मुख्य अतिथिको बाहुलिबाट सिकुनसँग जोडिएका नयाँ सहकारी समितिहरूलाई प्रमाणपत्र प्रदान गरियो। यसरी नै सिकुनको आधिकारिक वेब पोर्टलको पनि लोकार्पण गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री उप्रेतीले सहकारीताको उद्देश्य साथै महत्वबारे बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको सुनौलो, समृद्ध र सक्षम सिक्किमको परिकल्पनालाई पुरा गर्न सहकारिताको ठूलो भूमिका रहेको उनले बताए। यसको साथै सबैलाई सहकारी अभियानसँग जोडिने आग्रह पनि गरे। मन्त्री उप्रेतीले सहकारीहरूले देशको आर्थिक, सामाजिक अनि संस्कृतिक विकासमा ठूलो भूमिका खेलेको इतिहास साझा गर्दै अब सिक्किम निर्माणमा पनि सबै सहकारीहरू मिलेर कार्य गर्ने आग्रह गरे।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै सिकुनका अध्यक्ष डा. मंगलजीत राईले सिकुनले हालसम्म गरिरहेको विभिन्न कार्यबारे विस्तृत रुपमा जानकारी गराए। यसको साथै सिकुनमा आवश्यक परेको मानव संसाधनको मागलाई समयमानै पुरा गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि सहकारी विभागीय मन्त्री अरुण उप्रेतीप्रति सबैको पक्षबाट आभार व्यक्त गरे।