अमेरिको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई पराजित गरेका छन्। ट्रम्प अमेरिकाको आउँदो राष्ट्रपतिको शपथ लिने तयारीमा छन्। यो निर्वाचनमा पहिलो पटक तेस्रोलिङ्गी उम्मेदवार सांसद चुनिए पछि एउटा इतिहास रचिएको छ। तर उनको लैंगिकताले नयाँ विवाद उत्पन्न भएको छ। डेमोक्र्याट सारा म्याकब्राइड नामकी एक ट्रान्सजेन्डर महिला पहिलो पटक अमेरिकी संसदमा पुगेकी छन्। सारा पुरुषका रूपमा जन्मेकी थिइन् तर अहिले उनी ट्रान्सजेन्डर महिला भइन्। उनी डेलावेयरबाट संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी हुन्। रिपब्लिकन पार्टीकी सांसद न्यान्सी मेसले सारा म्याकब्राइडले संसदमा महिला शौचालय प्रयोग गरेकोमा आपत्ति जनाएकी थिइन्। उनले सारालाई महिला शौचालय प्रयोग गर्न नदिने बताएकी थिइन्। न्यान्सी मेसले अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा पनि यस सम्बन्धमा प्रस्ताव ल्याएकी छिन्। दुई पृष्ठको यो प्रस्तावमा संसदका सदस्य, संसदका पदाधिकारी र कर्मचारीले आफ्नो मौलिक लिंग (उनी जन्मेको लिङ्ग) बाहेक अन्य शौचालय प्रयोग गर्न नपाउने व्यवस्था छ।
यो प्रस्तावमा महिलाको शौचालय, लकर रुम र चेन्जिङ रुममा पुरुषका रूपमा जन्मिएका व्यक्तिलाई अनुमति दिँदा महिलाको सुरक्षा र मर्यादामा आँच आउन सक्ने उल्लेख छ। उनले सारा म्याकब्राइड पुरुषको रूपमा जन्मिएको हुँदा उनलाई यो अनुमति दिन नसकिने बताइन्। यस सम्पूर्ण विषयमा साराले यो वास्तविक मुद्दाबाट ध्यान हटाउन दक्षिणपन्थी नेताहरूको षड्यन्त्र भएको बताइन्। अमेरिकी नागरिकहरूले दिनहुँ सामना गरिरहेका समस्याहरूको तिनीहरूसँग कुनै समाधान नभएको उनले बताइन्। अमेरिकी तल्लो सदनका सभामुख माइक जोन्सनले संसदमा तेस्रोलिङ्गी महिलालाई महिला शौचालय प्रयोग गर्न प्रतिबन्ध लगाउने योजनालाई समर्थन गरेका छन्। जोनसनले विज्ञप्तिमा महिलाका लागि स्पेस निकै महत्त्वपूर्ण रहेको बताएका छन्। यो प्रतिबन्ध क्यापिटल हिल र संसदसँग सम्बन्धित भवनमा कायम रहनेछ।









