गान्तोक: सृजनात्मक वैचारिक मञ्च रुम्तेक सिक्किमको ३४औं भेटघाट कार्यक्रम आज तारीख आज रुम्तेक राम मन्दिर परिसरमा सम्पन्न भयो। उक्त अवसरमा वरिष्ठ साहित्यकारहरूको उपस्थितिमा ३१औं भाषा मान्यता दिवस पनि भव्यताको साथा सम्पन्न भयो। कार्यक्रममा मुख्य अतिथिको रुपमा टिका पाण्डे रहेका थिए भने विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार पुण्यप्रसाद कोईराला र चक्रपाणी भटराईका साथमा सभाध्यक्ष हरिकुमार निरौला रहेका थिए।
कार्यक्रममा सृजनात्मक वैचारिक मञ्चको सामाजिक सञ्जाल मार्फत रचना वाचकहरूलाई मुख्य अतिथिको बाहुलीबाट प्रशंसा पत्र प्रदान गरियो। यी रचना वाचक तथा आजका प्रशंसा पत्र प्रापकहरूमा प्रद्योत छेत्री गान्तोक, मोहन ढकाल राङ्का, हेम सुवेदी रुम्तेक, विष्णु केसी बिरिङ, अर्जुन यावा लिङ्दुम, इमानुयल गिफ्ट राङ्का रहेको थियो।
कार्यक्रमको अर्को चरणमा कविता वाचन तथा भाषा सम्बन्धी कुराहरू उपस्थित साहित्यकारहरूद्वारा राखिएको थियो।कविता वाचन सुनिता पिल्मो राई आसामलिङ्जे, विष्णु केसी बिरिङ, लाक्पा डोमा भुटिया रुम्तेक, दिपेन्द्र सिवाकोटी राङ्का, छुङ्देन समीक्षा राङ्का, जमुना शर्मा राङ्का, पुण्यप्रसाद कोईराला शिवप्रसाद न्यौपाने चन्द्रबहादुर छेत्रीले भाषा आन्दोलनमा उत्रिएर भारतिय संविधानमा नेपाली भाषालाई अन्तर्भुक्त गराउने ती महान व्यक्तिहरूको सहभागितामथि प्रकाश पारिएको थियो भने अब उसो भाषामाथि के कसो गर्ने, कसरी आफ्नो भाषा जोगाउने इत्यादि विषयमाथि प्रकाश पारिएको थियो। चन्द्रप्रकाश नेपालद्वारा आजको यस कार्यक्रममा आजीवन सदस्यता पनि ग्रहण गर्दै अन्य उपस्थित जनहरूमा पनि आजीवन तथा वार्षिक सदस्यता ग्रहण गर्न आह्वान गरेका थिए।
आजको कार्यक्रममा मुख्य अतिथिको सम्बोधनमा टिका पाण्डेले यो ३४औं कार्यक्रम सफल रहेको र समाजिक सञ्जाल मार्फत चलिरहेको कार्यक्रम सय अंक पुग्न लागेकोमा बधाई दिएका छन्। यद्यपि अनलाईन भन्दा पनि प्रत्यक्ष भेटघाटको कार्यक्रम नै राख्नु पर्ने आवश्यकता रहेको बताए। आफ्नो सम्बोधनको क्रममा पाण्डेले यसरी विशिष्ट साहित्यकारहरूको बिचमा आफू पनि उपस्थिति हुन पाएकोमा गर्ववोध गरेका छन् र भविष्यमा सृजनात्मक वैचारिक मञ्च को कार्यक्रममा उपस्थित जनाउने विचार पनि राख्दै आफ्ना स्वरचित कविता वाचन गरेका थिए। यसैगरी आजका सभाध्यक्ष हरिकुमार निरौलाले आफ्नो सम्बोधनमा हाम्रो भाषा संस्कृति, संस्कार इत्यादि कसरी र कस्तो प्रकारले संरक्षण गर्नुपर्छ भन्ने विषयमा जोड दिंदै सृजनात्मक वैचारिक मञ्चले गर्दै आएको कार्यक्रमले भावी सन्ततिलाई अवश्य नै केही मार्गदर्शन मिल्नेछ भनी आश्वस्त दिलाएका छन्।