बिजनबारी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी गोक समष्टिले आज बिजनबारीमा एउटा राजनैतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रिय उपाध्यक्ष सतिश पोख्रेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष अनित थापाले पहाडमा अहिले शान्ति भयो अब सम्वृद्धितर्फ काम गर्नुपर्छ भनी बताएका छन्। उनले वर्तमान समयमा चलिरहेको जीटीए चुनावको होहल्लाको विषयमा बोल्दै जबसम्म पहाडमा नयाँ व्यवस्था आउँदैन तबसम्म भएको व्यवस्था चल्नुपर्छ भनी बताएका छन्। थापाले हामी राजनैतिक दल हौं, सरकारले चुनाव गराउँछ भने चुनावमा जानेछौं, जब पब्लिकले परिवर्तन खोज्यो तब डीजीएचसी थाप्नेले डीजीएचसी ठीक भएन भन्यो, त्यसरी नै पब्लिकले परिवर्तन खोज्दा जीटीए ठीक छैन भन्दै नयाँ आन्दोलन सुरु गर्यो भनी बताएका छन्।
उनले राज्य सरकारसंग मिलेर काम गर्नु नै पहाडको हितमा रहेको बताउँदै सबै नेताहरु राज्य सरकारसंचँग मिलेको नै हुन्छ तर नेताहरुलाई थाहा छ साँचो कुरा गर्यो भने भोट पाउँदैन भनेर त्यसैले नेताहरुले बंगाल विरोधी बनाउँछन् जनतालाई र यो सबै मनोवैज्ञानिक खेल मात्र हो भनी बताए। उनले पहाडको जनताले यो यथार्थलाई स्वीकार गर्नुपर्छ भन्दै जनताले सत्य कुरा अनि यथार्थलाई आजसम्म रुचाएको छैन, पचाएको छैन। यसरी यथार्थलाई स्वीकार नगर्नु पहाडको हितमा छैन। बंगालसंग हाम्रो केही पनि सम्बन्ध छैन भन्ने नेता पनि अहिले डराउँदैछ कारण उसलाई थाहा छ बंगाल सरकारसंग मिलेर उसले पनि काम गर्नु नै पर्छ भनी ठोकुवा गरे।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले अघि भने – ”जबसम्म जनता र हाम्रो सपना अनि विचार मिल्दैन, तबसम्म हामीले हाम्रो सपनालाई साकार बनाउनु नै सक्दैनौं। त्यसैले हामी सत्यको राजनीति गर्छौं। मैले कसैलाई गाली गरे भने उटपट्याङ्ग कुरा गरे भने तपाईहरुलाई पनि मज्जा आउँछ तर मैले गाली गर्ने संस्कार त्यागेको छु, हाम्रो समुहले सकरात्मक राजनीति गर्ने सोच लिएर अघि आएका छौं, चुनाव भयो भने हामी चुनावमा जानेछौं नै, हाम्रो यात्रामा सहयात्री भएर तपाईहरुले पनि संघर्ष गर्नु भएको थियो, जीटीए चुनावमा जानु भनेको जीटीएको पक्षमा हुनु हो। पहाडमा कोही पनि गोर्खाल्याण्डको विरोधी छैन, तर भाजपाले देखाउने चाहिँ ललीपप मात्र हो तर कुन किसिमको ललिपप त्यो चाहिँ कसैलाई पनि थाहा छैन,भाजपाले दिने चाहिँ केही छैन, पहाडलाई बिगार्ने काम मात्र गर्छ।”
थापाले पहाड बिगार्ने हामी नै हौं भन्दै दिनेलाई गाली गर्छौं र नदिनेलाई र झुट बोल्नेलाई जिताएर पठाउँछौं। अन्त हामी कहाँबाट अघि बढ्नु सक्छौ? भनी प्रश्न गरेका छन्।
उक्त सभालाई सम्बोधनको क्रममा पार्टी महासचिव अमर लामाले भर्खरै कोलकाता हाई कोर्टले जीटीए चुनाव विषय दिएको सुझावलाई जानकारीमा ल्याउँदै कोलकाता हाई कोर्टले जीटीए चुनाव नगराउनु भनेर निर्देश दिएको छैन तर सरकारलाई आफ्नो विवेक लगाएर चुनाव गराउँदा पनि हुन्छ नगराउँदा पनि हुन्छ भनेर सुझाव मात्र दिएको छ तर यता साथीहरुले कोर्टको विचारलाई तोड मोड गरेर फैलाउँदैछ भनी बताएका छन्। जीटीएको विकल्प अहिले पहाडमा स्थापना हुने कुनै सम्भावना छैन, त्यसैले पहाडको भलोको निम्ति र पहाडको गाउँवासीहरुको सुख सुविधाको निम्ति पनि जीटीए चुनाव हुनुपर्छ भनी बताएका छन्। उनले ममता सरकारले नै पहाडमा पर्जापट्टा बाँड्ने काम गरेको थियो र दिने सरकारसंग पाखुरा सुर्काएर हुन्छ? राज्य सरकारले सधैं हाम्रो नाडी छामी रहेको हुन्छ भनी बताएका छन्।
सभामा भागोप्रमोको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय कार्यकारी सभापति जेबी तामाङले आफ्नो सम्बोधनमा हामी धेरै ढाटियौं, अब हामी फेरि झुक्किने छैनौं भन्दै हामीले हाम्रो नेता अनित थापा पनि झुट नबोल्ने नेता पाएका छौं भनी बताएका छन्।
आजको कार्यक्रममा विभिन्न राजनैतिक दलहरू छोडेर ५९ परिवारहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुनेहरुमा गोरामुमोका पूर्व सदस्य पुरण जैरु प्रमुख थिए। उनी केही समयसम्म हाम्रो पार्टीेसंग पनि सम्बन्धित रहेका बताउँदै हाम्रो पार्टी हाम्रो लागि हावा पार्टी अनि देउसी पार्टी मात्र हो भनी आरोप लगाएका छन्।