खरसाङ: गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दिल्लीमा हुने दुई दिवसीय धरणा प्रदर्शनलाई लिएर खरसाङमा पोस्टरहरू टाँसेको छ। विशेष गरेर आगामी २७ नोभेम्बरदेखि हुन गइरहेको संसदको शीतकालीन अधिवेशनलाई ध्यानमा राखेर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले गोर्खाल्याण्डको मागमा आगामी १३ र १४ दिसम्बरमा दिल्लीमा दुई दिवसीय धरणा प्रदर्शन गर्ने भएको छ। यसै धारणालाई लिएर मानिसहरुमा जागरुक गराउन तथा सहभागिताको लागि आह्वान गर्दै आज गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा खरसाङ क्षेत्रमा पोष्टरिङ गरेका छन्। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको मुख्य संयोजक किशोर प्रधानको विशेष उपस्थिति र दिल्ली धरणा समितिको संयोजक बिक्रम छेत्रीको अगुवाईमा खरसाङ बजार क्षेत्रमा पोस्टरहरू टाँसेको छ।

गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले आज दार्जीलिङबाट पोस्टर टाँस्ने कार्यको थालनी गर्दै घुम, सोनादा हुँदै खरसाङ पनि आएर गरिएको छ। उक्त पोष्टरहरुमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा दिल्लीमा आयोजित दुई दिवसीय धरणा प्रदर्शनलाई सफल पार्नलाई सबैको साथ र सहभागिताको आह्वान् गरिएको छ। पोस्टर अभियानको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको सदस्या विन्ध्या डुक्पाले गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले संसदको प्रत्येक सत्रमा दिल्लीमा गोर्खाल्याण्डको लागि धरणा प्रदर्शन गर्दै आइरहेका छन्, र यसपाली पनि संसदको शीतकालीन सत्रमा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहले दिल्लीको जन्तर मन्तरमा धारणा प्रदर्शन र सडक कार्यक्रम आयोजना गरेकोले यस विषयमा सबैलाई बुझाउन दार्जीलिङदेखि पोस्टर खरसाङसम्म टाँस्दै आइपुगेको बताएकी छन्। उनले भनिन्, ‘गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको भनाइ छ, गोर्खाल्याण्ड माग्नु रहर होइन तर हाम्रो आवश्यकता हो। यो रहर होइन तर बाध्यता हो। त्यसैले गर्दा हामी यसपालीको शीतकालीन अधिवेशनलाई ध्यानमा राखेर गोर्खाल्याण्डको लागि धरणा प्रदर्शन गर्न दिल्ली गईरहेका छौं।‘
उनले अझ भनिन्, ‘अहिले हामी सुन्छौं कि दिल्ली जानु पर्दैन कारण दिल्लीले बुझेको छ भनिन्छ तर दिल्लीको केन्द्र सरकारले गोर्खाहरुको समस्या बुझेर पनि केही गरेको छैन। हामीले गोर्खाहरुको समस्या समाधानको लागि भाजपालाई जिताएको २० वर्ष भयो तर अहिलेसम्म केही भएको छैन।त्यसैले हामी सरकारलाई चाप दिनलाई यसपालीको शीतकालीन अधिवेशनमा पनि दिल्लीमा पुगेर गोर्खाल्याण्डको लागि धरणा प्रदर्शन गर्नेछौं।‘