पर्थ: भारतले बोर्डर-गावस्कर ट्रफी सीरीजको पहिलो टेस्ट म्याचमा आयोजक अष्ट्रेलियालाई चेपारोमा पारेको छ। पेस बलरहरूका प्रभावशाली प्रदर्शनपछि आज यशस्वी जयसवाल र केएल राहुलको उत्कृष्ट ब्याटिंगको सहायताले भारत मजबूत स्थितिमा पुगेको छ। शुक्रवार म्याचको पहिलो दिन भारतको पहिलो ईनिंग्स १५० रनमा समाप्त भएको थियो। त्यसपछि शनिवार अष्ट्रेलियाई टीम केवल १०४ रनमा अलआउट हुँदा भारतलाई पहिलो ईनिंग्सको आधारमा ४६ रनको बढ़त हासिल भयो। पहिलो ईनिंग्सको आधारमा अघि रहने भारतले आज आफ्नो दोस्रो ईनिंग्समा असाधारण प्रदर्शन गर्दै दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा कुनै विकेट नगुमाइ १७२ रन बनायो। यसरी भारतसँग समग्रमा २१८ रन अनि सबैभन्दा महत्त्वपूर्ण कुरा जम्मै १० विकेट रहेको छ। शनिवारको खेल समाप्त हुँदासम्म यशस्वी जयसवाल ९० र केएल राहुल ६२ रनमा अविजित रहे। यसमा जयसवालले १९३ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। यसरी उनका ओपनिंग जोड़ीदार राहुलले १५३ बल खेलेर ४ वटा चौका लगाइसकेका छन्। पहिलो ईनिंग्समा खाता नखोली आउट हुने यशस्वीले आज आफ्नो चरित्र विपरीत खेल्दै परिस्थितिको माग अनुसार धैर्यको साथ ब्याटिंग गरे। उनलाई राहुलले असल साथ दिए। यी दुईजनाले मिलेर आज दुईवटा सेशनको खेलमा अष्ट्रेलियाई बलरहरूलाई थकित बनाए। यसअघि आज बिहान अष्ट्रेलियाले शुक्रवारको स्कोर ७ विकेटमा ६७ रनबाट अघि खेल्दै ३७ रन बनाएर अन्तिम ३ विकेट गुमायो। बुमराहले आज एलेक्स केरी (२१ रन)-लाई शुरुमै आउट गरे। त्यसपछि न्याथन लियोन पनि ५ रन बनाएर हर्षित राणाको बलमा आउट भए। यसरी ७९ रनमा ९ विकेटको पतनपछि मिचेल स्टार्क र जोश हेजलवुडले २५ रनको पार्टनरशीप गरेर टीमको स्कोर १०० पारी पुऱ्याए। यो अष्ट्रेलियाको पहिलो ईनिंग्समा सबैभन्दा ठूलो पार्टनरशीप हो। स्टार्कले २६ रन बनाए, जसलाई हर्षितले आउट गरी अष्ट्रेलियाको पहिलो ईनिंग्स समाप्त गरे। भारतीय बलरहरूमा कप्तान बुमराहले सर्वाधिक ५ विकेट लिए। यसबाहेक हर्षितले ३ र मोहम्मद सिराजले २ विकेट लिए।