सिलगढी: समसिया हाई मदरसामा सरकारी कार्यक्रम मार्फत लगभग १५० यौनकर्मीहरूलाई मतदाता कार्डको लागि दर्ता गरिएको थियो। कार्यक्रममा जलपाईगढी डिभिजनल कमिश्नर र एसडीओ अनि अन्य अधिकारीहरू उपस्थित थिए। यस सम्बन्धमा जलपाईगढी डिभिजनल कमिश्नर अनुप कुमार अग्रवालले भने, ‘यो कार्यक्रम हरेक वर्ष आयोजना गरिन्छ। यो कार्यक्रम १८ वर्ष नाघेका वा मतदाता सूचीबाट नाम हटाइएकाहरूका लागि हो। यौनकर्मी मात्र नभएर तेस्रोलिङ्गी र घरबारविहीनलाई पनि विशेष शिविर बनाएर मतदाता नामावलीमा दर्ता गराइन्छ।‘

यस सम्बन्धमा यौनकर्मीहरुले वर्षौंदेखि मतदाता नामावलीमा नाम दर्ता गराउन पटक पटक प्रयास गरे पनि मतदाता नामावलीमा नाम समावेश हुननसकेको बताए। तर यसपटक आफ्नो नाम दर्ता भएकोमा उनीहरू निकै खुशी छन्। मतदाता नामावलीमा नाम दर्ता गराउन धेरै प्रकारका प्रमाण चाहिन्छ, जुन लामो समयदेखि आफूसँग नभएको उनीहरूले बताए । त्यही भएर लामो समयसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकेनन्। तर, सरकारको यो कदमप्रति उनीहरु खुशी छन्।