लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयको कौस्तुभ जयन्तीलाई लिएर सभा

IMG-20241122-WA0267

गेजिङ: गेजिङ जिल्लाको याङ्थाङ क्षेत्रमा पर्ने लिङ्चोम वरिष्ठ माध्यमिक विद्यालयको ७५औं वर्षगाँठ तथा कौस्तुभ जयन्तीको अवसरमा एक महत्त्वपूर्ण सभा सम्पन्न भयो। पूर्व विद्यार्थी एवं पद्मश्री केदार गुरुङको अध्यक्षतामा सम्पन्न सभामा विद्यालयका वर्तमान र पूर्व विद्यार्थीहरू, शिक्षक-शिक्षिका साथै स्थानीयहरूको उपस्थिति रहेको थियो। सभामा विद्यालयको योगदानको चर्चा गर्दै आगामी कार्यक्रमबारे निर्णय गरियो।
सभामा आयोजक समितिका संरक्षक एवं ओएसडी एसपी माङ्युङ, अध्यक्ष केबी लिम्बू, पूर्व विद्यार्थी समूहका प्रमुख संरक्षक एवं पूर्व मन्त्री एके घतानी, जिल्ला पञ्चायत पुनर्बीर लिम्बू, उपाध्यक्ष गंगाराम शर्मा, र विद्यालयका प्राचार्य याङ्देन सिप्मो लगायतले आफ्नो मन्तव्य प्रस्तुत गरे। आगामी कार्यक्रमलाई सफल बनाउन अघिबाट नै समिति तयार गरिएको छ भने कार्यक्रमका प्रमुख संरक्षक क्षेत्र विद्यायक एवं मन्त्री भीमहाङ सुब्बा रहेका छन्।
विद्यालयको योगदानको प्रशंसा गर्दै सहभागीहरूले यस अवसरलाई भव्य रुपमा मनाउनुपर्नेमा जोर दिए भने आगामी फरवरी महिनाको अन्तिम सातामा आयोजना हुने कौष्तूभ जयन्तीको तयारीका लागि विभिन्न योजना प्रस्तुत गरियो।
पूर्व विद्यार्थी सङ्गठनका सल्लाहकार एवं पूर्व मन्त्री एके घतानीले विद्यालयको विकासका लागि आफ्नो सुझाव राख्दै एलुम्नी सदस्यहरूलाई यस अवसरलाई सफल बनाउन पूर्ण सहयोग गर्न आग्रह गरे। संरक्षक एसपी माङ्युङले पनि विद्यालयको विकास र कार्यक्रम व्यवस्थापनका विषयमा आफ्ना सुझाव प्रस्तुत गरे।
सभामा उपस्थित सबैले विद्यालयको गौरवमय इतिहासलाई उजागर गर्दै आगामी पुस्ताका लागि प्रेरणादायक वातावरण तयार पारिनुपर्ने कुरामा जोर दिए। ७५ वर्षगाँठको अवसरलाई ऐतिहासिक बनाउन पूर्व विद्यार्थी, शिक्षक र अभिभावकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने सभामा निर्णय गरियो। यस विशेष अवसरमा विद्यालयले आफ्ना भौतिक संरचना, शैक्षिक सुधार र सांस्कृतिक पहिचानलाई उजागर गर्दै समर्पण भावका साथ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेको छ। आगामी कार्यक्रमहरूमा सांस्कृतिक प्रस्तुति, विद्यार्थी सम्मान र स्मृतिका झलकहरू समेटिने भएको छ।
लिङ्चोम विद्यालयले स्थापना वर्ष १९५० भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement