गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले अस्थायी शिक्षकहरूलाई दिएको बचन पुरा गरेकोमा अल सिक्किम प्रोहीवेसनरी टिचर्स एण्ड टेम्पोरेरी इम्पलोयज एसोसिएशनले धन्यवाद दिँदै आभार प्रकट गरेको छ। आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष राजेश दाहालले राज्यका शिक्षकहरूको निम्ति यस समय एतिहासिक रहेको बताए। मुख्यमन्त्री तामाङले ८ वर्षपुरा गरिसकेका अस्थायी शिक्षकहरूलाई स्थायीकरण गर्ने जुन घोषणा गरेका थियो ,त्यो पुरा गरेकोमा उनी भावक बने। उल्लेखनीय छ, नाम्चीमा आयोजित स्वतन्त्रता दिवसको अवसरमा राज्यका छ वटा जिल्लाका तीन –तीन जनालई स्थायीकरणको अर्डर मुख्यमन्त्रीले प्रदान गरेका थिए। विगतको २५ वर्षको सरकारले शिक्षकहरूको निम्ति कुनै प्रकारको नीति, योजना तयार नगरेको हुँदा २५ वर्षसम्म अस्थायीरूपमा काम गरेर अवकाश प्राप्त गर्नु परेको उनले उल्लेख गरे। दाहालले थप जानकारी गराए अनुसार सरकारले शिक्षिकाहरूलाई मातृत्व विदा ६ महिनादेखि बढाएर एक वर्ष बनाएको र यसको आधिकारिकरूपमा नोटिफिकेसन पनि १६ अगस्तको दिन सरकारले जारी गरेर शिक्षिकाहरूलाई न्याय दिएके अवगत गराए। विगतको सरकारमा अस्थायी शिक्षकहरूले धेरै पल्ट आन्दोलन गर्नुपरेको घटनालाई पनि उनले स्मरण गराए। धेरै पल्ट आन्दोलन गरेपनि अस्थायी शिक्षकहरूको समस्यामाथि पूर्व सरकारले कुनै प्रकारको पहल नगरेको उनले आरोप लगाए। शिक्षण पेशालाई पूर्व सरकारले गम्भीरतापूर्वक नलिएक कारण अस्थायी शिक्षकवर्गले धेरै समस्या भोग्नु परेको दाहालले उल्लेख गरे। यस अवसरमा योगेश शर्मा र वाङदी भोटियाले पनि सम्बोधन गरेका थिए।