खरसाङ: खरसाङ नगरपालिकास्थित वार्ड नम्बर एक भिक्टोरिया गाउँ जाने बाटोको निर्माणको लागि केही समय अघि जीटीए प्रमुख कार्यपाल अनित थापाले शिलान्यास गरेर कार्य शुरु गरिदिएका थिए। उक्त रोडको निर्माण कार्यको लागि स्थानीय समाजलाई लिएर रोड निर्माण निरीक्षण कमिटी गठन गरिएको छ। उक्त कार्यको लागि आज प्रताप थापाको अध्यक्षतामा भएको सभालाई संचालन नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङले गरेका थिए। यस सभामा २८ नम्बर समष्टिको सभासद श्याम शेर्पा, वार्ड नम्बर १ का को-अर्डिनेटर विकाश तामाङ, खरसाङ टाउन कमिटीको प्रचारप्रसार सञ्जय रावत, नारी शक्तिको को-अर्डिनेटर प्रतिमा लेप्चा, वार्डको नारी शक्तिको पदाधिकारीगण साथै भागोप्रमो अधिकारीगणको उपस्थितिमा बाटो निरीक्षण कमिटीको गठन गरिएको छ। यस निरीक्षण कमिटीमा १६ जना पदाधिकारीहरू साथै २२ जना कार्यकारिणी सदस्यहरु गरी जम्मा ३८ जनाको कमिटी गठन गरिएको छ। सभामा सबैले बाटो गुणस्तरको हुनुपर्नेमा जोड दिइयो साथै सकेसम्म सबै कमिटी र गाउँवासीले सहयोग गर्ने आफ्नो विचार राखे साथै सबैले बाटो निर्माणको लागि जीटीए प्रमुखप्रति आभार प्रकट गरे। सभामा विशेष नगरपालिका अध्यक्ष बिग्रेन गुरुङ, सभासद श्याम शेर्पा, पप्पु प्रधान, प्रतिमा लेप्चा अनि बिर्जु गुरुङले विशेष वक्तव्य राखेका थिए। आफ्नो वक्तव्यमा सभासद श्याम शेर्पाले भने, कमिटीले राम्रोसित निरीक्षण गर्नुपर्नेछ र कमिटीमाथि ठूलो जिम्मेवारी छ, काम बिग्रेर गुनासो गरेर हुँदैन।’ उनले अघि भने,’काम हेर्नुपर्ने अहिले नै हो। कमिटीलाई अधिकार छ कामको निरीक्षण गर्ने, ठेकेदारले नसुने हामी छौं, विभाग छ र जीटीए चीफ छ गुनासो सुन्ने। काम राम्रो हुनुपर्छ।’ अन्त्यमा सभाको सभापति प्रताप थापाले आफ्नो वक्तव्यमा सबैलाई धन्यवाद दिएका छन्।